प्रशासनद्वारा एकैदिन १४ कर कार्यालयमा छड्के अनुगमन, सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन निर्देशन

प्रशासनद्वारा एकैदिन १४ कर कार्यालयमा छड्के अनुगमन, सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन निर्देशन

काठमाडौं । एकैदिन १४ वटा कर कार्यालयहरूमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले छड्के अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारीहरू र प्रशासकीय अधिकृतहरूको नेतृत्वमा छुट्टा–छुट्टै १४ वटा टोलीले काठमाडौंका १४ वटा आन्तरिक राजस्व कार्यालयहरूमा छड्के अनुगमन गरेको हो । प्रशासनले चावहिल, जोरपाटी, पुतलीसडक, बत्तीसपुतली, नयाँ बानेश्वर, कोटेश्वर, त्रिपुरेश्वर, कलंकी, कालीमाटी, बालाजु, टंगाल, ठमेल, महाराजगञ्ज र न्यूरोडमा रहेका आन्तरिक राजस्व कार्यालयहरूमा एकैपटक अनुगमन गरेको हो । 

अनुगमनपछि सबै कार्यालयका प्रमुखहरूलाई बोलाएर काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन र सेवाग्राहीहरूको चापलाई ध्यानमा राखेर व्यवस्थित सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । प्रजिअ बस्नेतले छलफलका क्रममा अनुगमनमा देखिएका कमजोरीहरूलाई सुधारेर अघि बढ्न समेत निर्देशन दिएका छन् । 

प्रशासन कार्यालयका अनुसार ती कार्यालयको प्रगति, कार्यसम्पादन सूचक, ड्रेस कोड, सरसफाई, अभिलेख व्यवस्थापन र राजस्व संकलनको अवस्था सन्तोषजनक रहेको पाइएको छ  । त्यस्तै, कर्मचारीहरूले समयको पालनालाई गम्भीर भएर पालना नगरेको पाइएको प्रशासनले जनाएको छ । ‘कार्यालयहरुमा कर्मचारीहरुको समय पालनाको अवस्था चाहिँ मिश्रित देखियो,’ प्रशासनले विज्ञप्तिमार्फभन् भनेको छ, ‘कतिपय कार्यालयहरुमा सबै कर्मचारीहरु समयमा उपस्थित भएको देखियो भने केही कार्यालयहरुमा कर्मचारीहरु समयमा कार्यालयमा नआएको देखियो ।’