पल शाह प्रकरण : यस्ता छन् प्रहरीले पेस गरेका प्रमाण, आफ्नै अडियो आत्मघाती बन्ने संकेत

पल शाह प्रकरण : यस्ता छन् प्रहरीले पेस गरेका प्रमाण, आफ्नै अडियो आत्मघाती बन्ने संकेत

बालिका बलात्कार कसुरमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहमाथि दोस्रोपटक लिइएको १२ दिनको समय शुक्रबार सकिँदै छ । नाबालिगलाई बलात्कार गरेको आरोपमा १४ वर्षसम्म कैदको मागदाबीसहित अदालतमा मुद्दा दर्ता भएको छ।

शाहले नाबालिगलाई बलात्कार गरेको भन्ने पुष्टि गर्न विभिन्न प्रमाण प्रहरीले जुटाएर पेस गरेको छ। जाहेरी दरखास्त, घटनास्थल मुचुल्का, पीडितको कागज, होटल सञ्चालिका सुलोचना कुँवरको कागज, होटलको इन्ट्री बूक, अर्जुनप्रसाद तिवारीको कागज, पीडित भनिएकी बालिकाको शारीरिक परीक्षण प्रतिवेदन, दुर्गाबहादुर थापा (दुर्गेश)को कागज, अडियो रेकर्डलगायतलाई प्रमाण मान्दै अदालमा मुद्दा दर्ता गरिएको छ। 

शाहविरुद्धको मुख्य प्रमाणको रुपमा उनकै अडियोलाई लिइएको छ। २ मिनेट ३५ सकेन्ड लामो अडियो प्रमाणका रुपमा पेस गरिएको छ। अडियोमा भनिएको छ, ‘... यसमा चाहिँ के छ भनेसी यति ठूलो डिसिजन लिनुपर्छ भन्ने नै छैन। किनभने उ प्रेगनेन्ट भाको भए... मैले गर्दा प्रेग्नेन्ट भएको भए...समस्या भएको भए वा बच्चा भएको भए कुरा गर्न मिल्थ्यो.... बिहे गर्ने, स्वीकार्ने कि नस्वीकार्ने अब गर्लफ्रेण्ड ब्वाईफ्रेण्डमा अन्डरस्ट्याण्डिङमा भयो होला। हामीसँगै हुँदा केही भयो होला, तर यति कुरामा एकदम राम्रो सेफ तरिकाले यति अन्डरस्ट्याण्डिङ हिसाबमा हुँदा पनि लास्टमा स्वीकार्नै पर्छ ? विवाह गर्नै पर्छ?’

गत वर्षको चैत ७ गते सुटिङको क्रममा गैंडाकोट रिसोर्टको कोठा नम्बर १०२ मा नाबालिगमाथि शाहले बलात्कार गरेको आरोप लागेको छ। उनले विवाह गर्छु भनि फकाएर बलात्कार गरेको आरोपपत्रमा उल्लेख गरिएको छ।

पीडित भनिएकी बालिकाले दिएको बयानअनुसार राति ११ बजेतिर शाहले फेसबुक म्यासेन्जरमा म्यासेज गरी ‘म आउँछु ढोका खुल्ला गरी राख्नु’ भनेको बताएकी छिन्। त्यसपछि ढोका ढक–ढक गरेको आवाज आएपछि ढोका खोल्दा शाह आएको बताएकी छिन्। त्यस राति शाहले आफूमाथि जबरजस्ती करणी गरेको उनको बयान छ।