अभिनेता पल शाहको निवेदन उपर उच्च अदालत पोखरामा पहिलो सुनुवाइ

अभिनेता पल शाहको निवेदन उपर उच्च अदालत पोखरामा पहिलो सुनुवाइ

नाबालिका बलात्कार आरोपमा जेलमा रहेका अभिनेता पल शाहको निवेदन उपर उच्च अदालत पोखरामा पहिलो सुनुवाइ भएको छ । न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले नाबालिका बलात्कार गरेको अभियोगमा कारागारमा रहेका शाहलाई थुनामा पठाएको प्रमाणहरूको प्रतिवेदन उपलब्ध गराउन बुधबार आदेश दिएको हो।

शाहले जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ जिल्ला अदालतले गत चैत १० गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। साधारण तारेखमै रिहा हुन पाउनुपर्ने माग गर्दै मंगलबार उच्च अदालत पोखरामा शाहले निवेदन दर्ता गराएका थिए। 

उनले आफू बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग पनि गरेका छन् । उच्च अदालतमा भएको सुनुवाइपछि अदालतले तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरेको सूचना अधिकारी विष्णुप्रसाद आचार्यले बताए ।

निवेदन दिए पनि थप अनुसन्धान विना आदेश दिन नमिल्ने उनले बताए । तनहुँ अदालतले दिएको थुनछेकको आदेश र आदेश जारी गर्दाको प्रतिलिपी, प्रमाण माग गरेको उनको भनाइ छ ।