पश्चिम नेपालमा चट्याङसहित वर्षा, हवाई उडान प्रभावित

पश्चिम नेपालमा चट्याङसहित वर्षा, हवाई उडान प्रभावित

काठमाडौं। पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा अहिले मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। वर्षाका कारण हवाई उडानसमेत प्रभावित भएको छ।रुकुमपश्चिमको सदरमुकाम मुसिकोट, सल्यानको सल्यान बजार, दाङको घोराही, बाँकेको नेपालगञ्ज, सुर्खेतको वीरेन्द्रनगर, दैलखको कट्टी, बर्दियाको गुलरिया, रोल्पाको लिवाङ र आसपासका क्षेत्रमा पानी परिरहेको छ।

केही समयपछि यो प्रणाली पूर्वतिर (लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र तराई क्षेत्र) सर्दै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै वर्षा दैलेखको कट्टीमा २०.६ मिलिमिटर वर्षा भएको छ। एक घण्टायता भने सबैभन्दा धेरै घोराही र सल्यान बजारमा ७.४ मिलिमिटर वर्षा मापन भएको छ।

पानी परिरहेका कतिपय जिल्लामा डम्म कुहिरो समेत लागेकाले भिजिबिलिटी कम छ। खराब मौसमका कारण आज बिहान पश्चिम नेपाल केही एयरपोर्ट हवाई उडान समेत प्रभावित भएको थियो।आज बिहान काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाज नेपालगञ्ज डाइभर्ट भएको थियो भने आजै बिहान ८ः४० बजे काठमाडौंबाट उडेको सो जहाजले आकाशमा धेरैबेर फन्को लगाए नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको थियो। यसैगरी काठमाडौंबाट उडेको श्री एयरलायन्सको हवाईजहाज पनि आकाशमा केहीबेर फन्को लगाएर मात्र नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको थियो।