पहिरो खस्दा रोल्पामा एक जनाको मृत्यु, दुई जना घाइते

 पहिरो खस्दा रोल्पामा एक जनाको मृत्यु, दुई जना घाइते

काठमाडौं । चर्चको टहरामा पहिरो खस्दा रोल्पामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।  निर्माणाधीन चर्चको टहरामा पहिरो खसेको हो घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

आज बिहान साढे चार बजेतिर रोल्पा नगरपालिका–२ मूलपानीमा निर्माणाधीन बेथेल मण्डली चर्चको टहरोमा पहिरो खस्दा रोल्पा नगरपालिका–१० घर भई सोही चर्चमा बस्दै आएकी धनजिता बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । 

शनिबारको प्रार्थनाका लागि आएकाहरुमध्ये तीन जना सोही चर्चको टहरामा बास बसेका थिए । पहिरो खसेर दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर भएकाले प्रादेशिक अस्पताल बुटवलमा रिफर गरिएको छ । अर्का एक घाइतेको भने जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।