सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, इतिहासमै उच्च

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, इतिहासमै उच्च

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी डिजेल, मट्टितेल र पेट्रोलको मूल्य वृद्धि गरेको निगमका सह-प्रवक्ता पुस्कर कार्कीले जानकारी दिए। यससँगै पेट्रोलियमको भाउ अहिलेसम्मकै उच्च भएको छ।

निगमका अनुसार प्रति लिटर पेट्रोलको मूल्य १६० रुपैयाँ र डिजेलरमट्टितेलको प्रति लिटर १४३ रुपैयाँ पुगेको छ। यसैगरी एलपी ग्यासको मूल्य पनि बढेर प्रति सिलिण्डर १,६०० कायम गरिएको छ।  हवाई इन्धन (आन्तरिक) मा ५ रुपैयाँले वृद्धि गरी प्रति लिटर १५६ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) अमेरिकी डलर ५० ले बृद्धि गरी प्रति कि.लि. अमेरिकी डलर १.५४५ कायम गरिएको छ । 

पेट्रोलियम पदार्थको कारोबारबाट दशौं अर्ब घाटा बेहोरेको निगमले रसिया र युक्रेन बीच जारी युद्ध समेतका कारणबाट पेट्रोलियम पदार्थहरूको अन्तराष्ट्रिय बजार मूल्य उच्च नै रहि रहेको र इन्डियन आयल कर्पोरेशन (आइओस)लाई इन्धन खरिदबापतको रकम अपुग भएपछि डिजेल, पेट्रोल, मट्टितेलको मूल्यवृद्धि गरेको जनाएको छ। समायोजनले निगमको १ महिनाको अनुमानित घाटा करिब ९ अर्ब  २७ करोड रुपैयाँ घाटा हुने उल्लेख छ।

नेपाल सरकार मातहतमा रहेको मूल्य स्थिरीकरण कोषको संचालक समितिको मंगलबार बसेको बैठकबाट पेट्रोलियम पदार्थकोआपूर्ति व्यवस्था सहज बनाई राख्न निगमलाई ४ अर्ब २० करोड रुपैयाँ दिने निर्णय भएको छ ।