पशुपति धर्मशालामा बतास समूहले चलाएको होटलमा सरकारले लगायो ताला

पशुपति धर्मशालामा बतास समूहले चलाएको होटलमा सरकारले लगायो ताला

पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गराएको छ । होटल खाली गर्न सूचना लिएर गएको कोषको टोलीलाई बतास समूहको होटल आनन्दका कर्मचारीले गेटमै रोकेपछि कोषले गेटमै ताल्चा लगाएको हो ।

करिब २ घण्टाको प्रयासपछि पनि होटल सिल गर्न गएको सरकारी टोली भित्र छिर्न नपाएपछि बाहिरै ताला लगाइएको हो। कोषले गेटमै सूचना टाँसेर होटलमा रहेका कुनै पनि सामान नचलाउन सूचित गरेको छ। सरकारी टोली धर्मशाला परिसरभित्र प्रवेश गर्न खोज्दा बतास समूहका प्रतिनिधिले गेट लगाइदिएका थिए। होटलमा बसेका पाहुना भित्रै थुनिएका छन्।

बतास समूहका प्रतिनिधिले यो विषयमा अदालतमा गएकोले सर्वोच्चको अन्तिम फैसला कुर्न आग्रह गरेका थिए। सम्झौताअनुसार काम नभएको भन्दै पशुपति क्षेत्र विकास कोषले १७ चैतमा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रालिसँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो। तर बतास समूहले कोषको पत्र बुझ्न मानेको थिएन।

त्यसपछि गत सोमबार कोषले होटल हटाएर धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको थियो। सूचनामा धर्मशालामा रहेका सबै सरसामान हटाउन भनिएको थियो। तर, बतासले नटेरेपछि कोषका कर्मचारी होटल बन्द गराउन पुगेका हुन्।