बेनी–मालढुंगा सडक आजदेखि दैनिक ६ घण्टा बन्द हुने

बेनी–मालढुंगा सडक आजदेखि दैनिक ६ घण्टा बन्द हुने

काठमाडौं । आजदेखि उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजना अन्तर्गत निर्माणधिन (बेनी-मालढुंगा) सडक दैनिक ६ घण्टा बन्द हुने भएको छ । निर्माणधिन बेनी-जोमसोम सडक स्तरोन्नतिका लागि भन्दै उक्त सडक ६ घण्टा बन्द गरिने भएको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयका अनुसार सडकको प्रवेश बिन्दुमा पर्ने पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा सडकको क्षेत्राधिकारमा पर्ने ढुङ्गा फुटाएर पन्छाउन र मालढुङ्गाबाट लस्तीसम्म कालोपत्र गर्न ‘प्राइमकोट’ बिछ्याउन सवारीसाधन बन्द गर्न लागिएको हो ।

आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले जिल्ला प्रशासन कार्यालय पर्वतमा आइतबार बसेको आयोजना, जनप्रतिनिधि, सुरक्षा अधिकारी र निर्माण कम्पनीका प्रतिनिधिको बैठकले आजदेखि आठ दिनसम्म बिहान १० देखि दिउँसो ४ बजेसम्म सवारीसाधन आवतजावत रोकेर निर्माण गर्ने निर्णय भएको जानकारी दिए ।

म्याग्दी र मुस्ताङ आवतजावत गर्ने सवारीसाधनको चापका कारण निर्माण प्रभावित भएकाले समय तालिका बनाइएको हो । सडक फराकिलो बनाउन किनारामा रहेको ठूलो ढुङ्गा फुटाउने, सबबेस, बेस राखेको मालढुङ्गा–लस्ती खण्डको चार किलोमिटर दूरीमा प्राइमकोट बिछ्याउने र कालोपत्र गर्ने तयारी भइरहेको छ ।

उक्त खण्ड अवरुद्ध हुँदा मालढुङ्गा–बागलुङ–बेनी वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ । अन्य सवारीका लागि सडक अवरुद्ध भए पनि अत्यावश्यक एम्बुलेन्स, दमकल र शव वाहन सञ्चालनमा भने सहजीकरण गरिने आयोजनाले जनाएको छ