भारतमा बढ्यो बिजुलीको भाउ, नेपालमा समस्या

भारतमा बढ्यो बिजुलीको भाउ, नेपालमा समस्या

बिजुलीको भाउ महँगो भएपछि भारतबाट बिजुली खरिद गर्न समस्या भएको छ । प्रतिस्पर्धी मूल्यमा नेपालले इन्डियन इनर्जी एक्सचेन्ज आईईएक्स मार्फत बिजुली खरिद गर्दै आएकोमा भाउ बढेपछि हिजो मङ्गलवारदेखि आयात बन्द भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए । 

नेपालले भारतबाट बोलकबोल गरेर बिजुली खरिद गर्दै आएकोमा हिजो कबोल गरेको मूल्यमा बिजुली पाउन सकेन । भारतमा हरेक १५ मिनेटमा बिजुलीको भाउ फरक–फरक हुने गर्छ । ‘यसअघि हामीले प्रतियुनिट सात भारतीय रुपैयाँमा किन्दै आएको बिजुली हिजो १२ भारुमा पनि पाइएन, हिजो राति १२ बजेदेखि आज राति १२ बजेसम्म भारतबाट आउने बिजुली बन्द भएको छ’, प्रवक्ता भट्टराईले भने । 

भारतबाट बिजुली आयात बन्द हुँदा उद्योगीहरूलाई बिजुली खपत कम गरिदिन आग्रह गरिएको प्राधिकरणले जनाएको छ । आज रातिदेखि भने प्राधिकरणले प्रतियुनिट १२ भारुमा बिजुली किन्दैछ । ‘हामीले आज बोलकबोल गरेर १२ भारुमा अर्थात् १९ रुपैयाँ दुई पैसामा बिजुली किन्दैछौँ, यो बिजुली आज राति १२ बजेदेखि आउन सुरु गर्छ’, प्रवक्ता भट्टराईले भने । 

नेपालमा सुक्खायाम सुरु भइसकेकाले बिजुली उत्पादन कम भइरहेको छ । बर्खामा नेपालको उत्पादन क्षमता झन्डै दुई हजार मेगावाट पुगे पनि सुक्खा समयमा जम्मा आठ सय मेगावाट मात्रै बिजुली उत्पादन भइरहेको छ । उच्च माग अर्थात् पिक डिमान्ड १६ सय मेगावाटसम्म पुगेको प्राधिकरणले जनाएको छ ।