भूकम्प प्रभावित म्यानमारः डब्लुएचओद्वारा १ सय टन औषधि र मेडिकल सामग्री सहयोग

 भूकम्प प्रभावित म्यानमारः डब्लुएचओद्वारा १ सय टन औषधि र मेडिकल सामग्री सहयोग


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भूकम्प प्रभावित म्यानमारलाई सहयोग पु-याउँदै आएको छ । हालसम्म करिब १ सय टन औषधि, मेडिकल उपकरण र टेन्ट उपलब्ध गराएको जनाएको छ । मानवीय स्वास्थ्य सहायताको खाँचोमा परेका करिब एक करोड २९ लाख मानिसको बढ्दो र विकसित स्वास्थ्य आवश्यकता पूरा गर्न आपत्कालीन मेडिकल टोलीको समन्वय र परिचालनमा सहयोग गरिरहेको डब्लुएचओले जनाएको छ ।

डब्लुएचओले दुबईस्थित आफ्नो ग्लोबल लजिस्टिक हबबाट ३५ टन सामान याङ्गुनका लागि पठाएको छ । यसअघि याङ्गुनको आपत्कालीन भण्डारबाट मान्डले, ने पी ताउ र सागाइङका लागि ६० टन ट्रमा किट, औषधि, मेडिकल र सर्जिकल उपकरण र बहुउद्देश्यीय टेन्ट उपलब्ध गराइएको थियो । स्वास्थ्य साझेदारहरूले पहिचान गरेका आवश्यकताहरू अनुसार थप जीवन रक्षक सामग्रीहरू खरीद गरिँदैछ र आगामी हप्तामा डब्ल्यूएचओको लजिस्टिक हबबाट म्यान्मारमा उडाउने तयारी भइरहेको जनाएको छ ।

भूकम्प प्रतिकार्यका लागि डब्लुएचओको सहयोगलाई मजबुत बनाउन थप विशेषज्ञहरू म्यानमार पठाइएका छन् । जसमा जमिनमा आपत्कालीन मेडिकल टोलीहरूको समन्वय पनि समावेश छ । जुन स्वास्थ्य आपत्कालीन अवस्थामा डब्ल्यूएचओले समर्थन गर्ने एक प्रमुख कार्य हो । त्यस्तै इमर्जेन्सी मेडिकल टिम्स नेटवर्क र यसको गुणस्तर सुनिश्चित चिकित्सा टोलीहरूलाई राहत प्रयासहरू र चिकित्सा हेरचाहको प्रावधानलाई समर्थन गर्न पनि पुगेको छ ।

डब्लूएचओले नेपी ताउ, मान्डाले र सागाइङ लगायत सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा र्यापिड रेस्पोन्स टोलीहरूको तैनातीको लागि आवश्यक जनशक्ति, औषधि, सहयोग जारी राखेको जनाएको छ ।