भोट हाल्न जाँदा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने

भोट हाल्न जाँदा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने

नेकपा एमालेको जारी ११औं महाधिवेशनका लागि भइरहेको मतदानमा एकचोटिमा ५० जनाले भोट हालिरहेका छन्।

प्रतिनिधिहरूले मतदान गर्न जानुअघि आफ्नो प्रतिनिधि कार्ड स्क्यान गर्नुपर्छ। त्यस आधारमा मतदान स्थलमा प्रवेश पाइन्छ।

कार्ड स्क्यान गरेर भित्र गएपछि त्यो कार्ड प्वाल पारिन्छ। त्यसपछि प्रतिनिधि भोटिङ मेसिन भएको ठाउँसम्म पुग्छन्।

भोटिङ मेसिनमा सबै पदका लागि फोटोसहित उम्मेदवारको सूची राखिएको छ। प्रतिनिधिले त्यही फोटो र नाम हेरेर इच्छाएको व्यक्तिलाई भोट हाल्न सक्छन्।

अहिलेसम्म भोट हालेर फर्केकाहरूको अनुभव सुन्दा एक जनालाई कम्तिमा २५ मिनेटदेखि बढीमा ४० मिनेटसम्म लागेको छ। प्रविधिमैत्री प्रतिनिधिहरूले कम समयमै भोट खसालेर फर्केको पाइन्छ।

अध्यक्ष दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेल दुवैले ४०–४० मिनेटमा भोट हालेका थिए भने उपाध्यक्ष उम्मेदवार विष्णु पौडेललाई २५ मिनेट र महासचिव उम्मेदवार सुरेन्द्र पाण्डेलाई ३० मिनेट लागेको प्राविधिक लक्ष्मण रिमालले जानकारी दिए।

भोटिङ मेसिनको स्क्रिनमा इच्छाएका व्यक्तिको नाममा दुईचोटि थिचेर (डबल ट्याप) भोट हाल्ने प्रविधि अपनाइएको छ।