भिलेनको रुपमा गणतन्त्र ल्याउन ज्ञानेन्द्रको पनि भूमिका थियो : प्रचण्ड

1.

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र ल्याउने बेलामा तत्कालिन राजा ज्ञानेन्द्र शाहले पनि आफूहरूलाई सहयोग गरेको टिप्पणी गरेका छन् ।

मंगलबार राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले त्यतिबेला ज्ञानेन्द्रले मुर्खतामार्फत आफूहरूलाई सहयोग गरेको टिप्पणी गरेका हुन् । ज्ञानेन्द्रले मुर्खता नगरेको भए अझै केहीवर्ष राजतन्त्र टिक्न सक्ने उनको भनाइ थियो ।

‘ज्ञानेन्द्रले धेरै मुर्खता नगरेको भए सात राजनीतिक दलमाथि दमन नगरेको भए, नेताहरूलाई उनैको पछि लाग्छु भनेर आत्मसमर्पण गर्दा लात्ताले नहानिदिएको भए सायद केही वर्ष टिक्न पनि सक्थ्यो । भिलेनको रुपमा ज्ञानेन्द्रको भूमिका पनि महत्त्वपूर्ण भूमिका छ ।’प्रचण्डले भने । 


पछिल्लो समय राजतन्त्र पुनस्थापनाको कलाविहीन नाटक प्रदर्शन भइरहेको जिकिर गर्दै अध्यक्ष प्रचण्डले यसले पनि समाजवादी क्रान्तिको यात्रामा अघि बढ्न सहयोग भएको बुझ्नुपर्ने बताए ।

‘अहिले फेरि राजतन्त्र पुनस्थापनाको कलाविहीन नाटक प्रदर्शन गरेर नेपाली जनता अझै जागरुक हुन र समाजवादी क्रान्तिको यात्रामा अघि बढ्न नयाँ सकंल्पको आधार तयार गरेका छन् । यसमा पनि ज्ञानेन्द्र शाहको भूमिका महत्त्वपूर्ण नै हुन्छ भनेर बुझ्नुपर्छ,’ प्रचण्डले भने ।

कुनै पनि कथा, उपन्यास, फिल्म चल्नका लागि हिरोमात्रै भएर नहुने भन्दै अहिले भिलेनको रुपमा राजावादीहरू सक्रिय भएको बताए ।