देउवाले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल-भारत सीमा समस्याका विषय द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्नका लागि आग्रह गरिएको बताएका छन् । शनिबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा समस्याका विषयमा छलफल भएको र द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्नका लागि आग्रह गरिएको बताएका हुन् । भारतको आर्थिक रूपान्तरणबाट लाभ लिन नेपाल इच्छुक रहेको उनले उल्लेख गरे ।
नेपाल(भारत सडक र रेलजस्ता सम्पर्क सञ्जालसम्बन्धी परियोजनाहरूमा थप प्रगति हुनेमा विश्वस्त रहेको बताए । प्रधानमन्त्री देउवाले महाकाली नदीमा धार्चुला र दार्चुला जोड्ने सवारी गुड्ने पुलको निर्माण र नेपालमा मल निर्यात गर्नेसम्बन्धी केही समय पहिले भएको समझदारी तथा यसको सफल कार्यान्वयनमा जोड दिइएको जानकारी दिए ।
उनले उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिन दुईजना सहमत भएको भन्दै भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समक्षकी शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।
