५ लाख घुस लिने मालपोत अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका मालपोत अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार अधिकृत सुनिल कुमार झाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
जग्गा सम्बन्धी हक सफाई मुद्दामा फैसला सुनाउँदा भूमिसुधार तथा मालपोत कार्यालय, जनकपुरधाम, धनुषामा कार्यरत निमित्त कार्यालय प्रमुखसमेत रहेका झाले सेवाग्राहीबाट ५ लाख घुस लिएका थिए। उनी चैत २८ गते अख्तियारको नियन्त्रणमा पुगेका थिए।
झाविरुद्ध ५ लाख बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जरिवाना र कैद सजाय माग गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन्।