माओवादीसँग एकताको टुंगो लागि सकेको छैन– बाबुराम भट्टराई
काठमाडौं, २४ वैशाख । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले माओवादी केन्द्रसँग निर्वाचन तालमेल मात्रै भएको बताउँदै उनले पार्टी एकताको विषय टुंगोमा पुगि नसकेको स्पष्ट पारेका छन् ।
आइतबार हेटौँडामा पत्रकारसँग कुराकानी गर्दै डा.भट्टराईले पुराना राजनीतिक शक्तिहरूले व्यवस्था फेरे पनि जनताको जीवनस्तरमा परिवर्नत ल्याउन नसकेको बताउँदै वैकल्पिक शक्तिका रूपमा स्थापित हुने आफ्नो अभियान जारी नै रहेको बताए ।
वर्तमान अवस्थामा राज्य व्यवस्थाप्रति जनताको असन्तुष्टि हुनु जायज हो । अब यो विषयमा अग्रगामी समाधान गरिनुपर्छ ।वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन नगरेसम्म मुलुकले काँचुली फेर्न सक्दैन, उनले भने ।
आफ्नो पार्टी वैकल्पिक शक्ति बनाउने प्रयासमा रहेको र समाजवादी विचारधाराबाट अघि बढ्न कोही तयार हुन्छ भने आफूहरु एकता गरेर अघि बढ्ने पूर्वप्रधानमन्त्री भट्टराईले बताए । माओवादी केन्द्रसँग निर्वाचन तालमेल मात्रै भएको बताउँदै उनले पार्टी एकताको विषय टुंगोमा पुगिनसकेको स्पष्ट पारे ।