माछा किसानमाथि मध्यरातमा छुरा प्रहार, आरोपी फरार
काठमाडौं- झापामा माछा पालन गर्दै आएका एक व्यक्तिमाथि आक्रमण भएको छ। अर्जुनधारा नगरपालिका-१ का ४६ वर्षीय माछा किसान टंकबहादुर एक्तेनमाथि गत जेठ ८ गते राति साढे ११ बजे आक्रमण भएको हो।अर्जुनधारा नगरपालिका-१ कै ३५ वर्षीय कृष्ण भनिने सन्तोष एक्तेनले टंकबहादुरमाथि छुरा प्रहार गरी गम्भीर घाइते बनाएका हुन्।
प्रहरीका अनुसार टंकबहादुरको अहिले बिएन्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ।टंकबहादुरमाथि अर्जुनधारा-६ मा रहेको माछापोखरी को डिलमा बनाइएको छाप्रोमा सुतिरहेको बेला अचानक सन्तोषले आक्रमण गरेका हुन्।
टंकबहादुरको दुबै खुट्टा तथा शरीरका विभिन्न भागमा छुरा प्रहार भएको प्रहरीले जनाएको छ। आफन्तका अनुसार निद्रामा रहेका बेला सन्तोषले आएर एकाएक आक्रमण गरेका थिए।
सन्तोष टंकबहादुरका भतिजा हुन्। उनी झगडालु स्वभावका व्यक्ति हुन्। उनले टंकबहादुरलाई हेप्ने, तर्साउने, गालीगलौज गर्ने, बिनाकारण निहुँ खोज्ने गर्थे। राति आक्रमणपछि सन्तोषलाई छिमेकीहरूले समात्न खोजेका थिए। तर, छुरा देखाएर उनी भागेका थिए।पीडितकी छोरी सलिनाले सन्तोषविरूद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा निवेदन दिएकी छिन्।
थर्ड पोल 