मदन जयन्तीः एउटै मञ्चमा ओली–भण्डारी, प्रधानमन्त्री ओलीले भने – ‘मदन भण्डारीलाई हामीले महासचिव बनाएका हौं’
काठमाडौं । आज जननेता मदन भण्डारीको ७४ औं जन्मोत्सव ।यसै अवसरमा मदन भण्डारी फाउन्डेशनको आयोजनामा काठमाडौंमा कार्यक्रम आयोजना गरिएको छ ।राष्ट्रिय सभा गृहमा जारी कार्यक्रममा सहभागी हुन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुगेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओली पनि सोही कार्यक्रममा सहभागी हुन पुगेका छन् ।
त्यस्तै एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदन भण्डारीलाई आफूहरूले छलफल र विश्लेषणसहित पार्टीको महासचिव बनाएको बताएका छन् ।कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘जबजको पृष्ठभूमि र त्यसको आधारका विचार तय गर्ने कुरामा मदन भण्डारीको अगुवाइ थियो । मदन भण्डारी महासचिव बन्ने कुरामा हाम्रो अगुवाइ थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘किनभने मदन भण्डारीले म महासचिव बन्छु भन्नुभएको थिएन । हामीले नै बनाएका थियौं । छलफल विश्लेषण गरेर निष्कर्ष निकालेर हामीले बनाएका थियौं ।’ उक्त विषयमा आम रुपमा पनि सहमतिको वातावरण बनेको अध्यक्ष ओलीले स्मरण गरे ।
पछिल्लो पटक नेकपा एमाले वृत्तमा पूर्वराष्ट्रपति भण्डारीको सक्रियताप्रति चर्चा व्यापक छ । सोही चर्चाकाबीच उनीहरू दुवै जना सहभागी यो कार्यक्रमलाई महत्त्वका साथ हेरिएको छ ।त्यस्तै, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका नेता कार्यकर्ताहरू पनि कार्यक्रममा सरिक हुन पुगेका छन् । तत्कालीन एमालेका महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो ।



थर्ड पोल 