रुकुमपूर्वमा दुई नाबालिक हत्या प्रकरण: हत्यामा संलग्न दुई नाबालिक पक्राउ, लुटेको गहना फर्काए
1.
रुकुमपूर्वमा दुई नाबालिक हत्या प्रकरणमा संलग्न दुई जना नाबालिका पक्राउ परेका छन् ।
पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा मृत भेटिएका तारामान बुढाका नाबालिका छोरी ११ वर्षकी रिना बुढामगर र नौ वर्षकी कालिमाया बुढामगरको हत्यामा संलग्न दुई नाबालिकलाई प्रहरीले पक्राउ गरेको जानाइएको छ।
रिना र कालिमाया चैत्रको २२ गते सिस्नो टिप्न भनी सोही ठाउँको सेराबाङ भन्ने ठाउँमा गएका थिए । राति अबेरसम्म घर नफर्किएपछि परिवार र आफन्तले खोज तलास गर्दा पनि उनीहरु भेटिएका थिएनन् ।
२३ गते बिहानै खोज तलास गर्दा उनीहरुको ध्याङरजुङ भीरमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम प्रहरी नायब उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी गराइन् । उनको अनुसार शव फेला परेपछि तालिम प्राप्त कुकुरसहितको टोलीले घटनास्थलमा अनुसन्धान गर्दा सात जनालाई प्रहरीले नियन्त्रणमा ल्याएको थियो ।
यस्तै उनीहरुको बयानको आधारमा पाँच जनालाई छोडिएको छ भने हत्यामा संलग्न दुई नाबालिकालाई पक्राउ गरी अनुसन्धान जारी राखिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताइन् । साथै दुई नाबालिकालाई २६ गते रुकुमकोट जिल्ला अदालतमा पेश गरेको र पाँच दिनको म्याद थप भई अनुसन्धान कार्य जारी राखिएको छ ।
रिना र कालिमायालाई उनीहरुले लगाएको गहनाको कारण हत्या गरेको बयान पक्राउ परेका नाबालिकाले दिएका छन् । उनीहरुले लगाएको गहना लुटेर जङ्गलमा लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
अहिले रिना र कालिमाया दुई दिदीबहिनीको शवलाई रुकुमकोट ल्याएर शनिबार शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाइ सकिएको छ ।
थर्ड पोल 