रोल्पामा कांग्रेसका दुवै क्षेत्रीय सभापति निर्विरोध

रोल्पामा कांग्रेसका दुवै क्षेत्रीय सभापति निर्विरोध

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत रोल्पाका दुई प्रदेश क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट प्रदेश ‘क’ को क्षेत्रीय सभापतिमा बिमल कुमार जिसी र प्रदेश ‘ख’ को सभापतिमा प्रताप बुढा सर्वसम्मत निर्वाचित भएका छन्।

१५औं महाधिवेशनका लागि रोल्पा जिल्ला निर्वाचन अधिकृत सुदीप गौतमका अनुसार दुवै क्षेत्रको अधिवेशन सोमबार शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको हो । ‘रोल्पामा हामीले वडा, पालिका र क्षेत्रीय अधिवेशन भयरहित वातावरणमा सम्पन्न गरेका छौं’, गौतमले भने ।

नेपाली कांग्रेस रोल्पाका सचिव शेरबहादुर थापाका अनुसार दुईवटा प्रदेश क्षेत्रीय अधिवेशनबाट ३३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन्। त्यस्तै, दुवै प्रदेश क्षेत्रबाट २४/२४ जना प्रदेश प्रतिनिधि पनि सर्वसम्मत निर्वाचित भएका छन्। ‘रोल्पाका दुईवटा क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ। दुवै अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि सर्वसम्मत निर्वाचित भएका छन्,’ थापाले भने।