नेता र काला व्यापारीले घरमा नोट थन्क्याउँदा आर्थिक संकट आयो : लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेता र ‘काला व्यापारी’हरूले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको बताएका छन्। राप्रपा पर्साले मंगलवार वीरगञ्जमा आयोजना गरेको आमसभामा अध्यक्ष लिङ्देनले बैंकमा नोट नहुनुको कारण नेताहरू र काला व्यापारीहरूले घरमा थन्क्याउनु भएको जिकिर गरेका छन्। नेताहरूले कमिशन र भ्रष्टाचारबाट कमाएको पैसा बैंकमा राख्दा आम्दानीको स्रोत खुलाउनुपर्ने भएकाले घरमै थन्क्याएका उनले दाबी छ।
‘कमिशनको नाममा‚ भ्रष्टाचारको नाममा विभिन्न हिसाबले कमाएको पैसा बैंकमा लगेर राख्दा त आम्दानीको स्रोत देखाउनु पर्यो‚ ट्याक्स तिरेको प्रमाण हुनुपर्यो‚’ उनले भने‚ ‘नभएपछि बोरामा राख्नुपर्यो। बाकसमा राख्नुपर्यो। आज नेताहरूको र काला व्यापारीहरूको घरमा नोट थन्किएको कारणले आज देशमा आर्थिक संकट आएको छ।’
नेता र काला व्यापारीहरूले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको अध्यक्ष लिङ्देनले बताए। उनले आगामी निर्वाचनमा जनताले राप्रपालाई मत दिएमा घर–घरमा थन्किएका नोटलाई कागजमा परिणत गरिदिनु आग्रह गरे।
