प्रधानमन्त्री देउवा र महन्थ ठाकुरबीच भेटवार्ता, ठाकुरले मागे चार मन्त्रालय

प्रधानमन्त्री देउवा र महन्थ ठाकुरबीच भेटवार्ता, ठाकुरले मागे चार मन्त्रालय

प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सरकारमा ल्याउने अन्तिम तयारी थालेका छन्। प्रधानमन्त्री देउवाले भारत भ्रमणमा जानुअघि नै लोसपालाई सरकारमा ल्याउने तयारी थालेका हुन्।

आज दिउँसो प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ। भेटवार्तामा ठाकुरले प्रधानमन्त्रीसँग चार मन्त्रालय मागेको बताइन्छ । लोसपा नेता डा. सुरेन्द्र झाले पनि सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्रीसँग महन्थ ठाकुरले निरन्तर सम्वाद गरिरहेको बताए। त्यसका लागि लोसपाले आफ्ना सर्तहरु अगाडि सारेको उनले बताए। 

सरकारमा सहभागी हुनुअघि लोसपाले केन्द्रीय कार्यकारिणी बैठकसमेत डाकेको छ। चैत १६ गते बस्ने बैठकमा सरकारमा सहभागी हुनेबारे निर्णय हुनसक्ने बताइएको छ। माओवादी केन्द्र र जसपाले भने लोसपालाई सरकारमा ल्याउने विषयमा असन्तुष्टि जनाउँदै आएका छन् ।