विद्या भण्डारीकै उपस्थितिमा ईश्वर पोखरेलले गर्नेछन् एमाले अध्यक्षमा उम्मेदवारी घोषणा
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकै उपस्थितिमा ११औं महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने भएका छन्।
संस्थापन इतर समूहका एक पदाधिकारीले दिएको जानकारी अनुसार मंसिर ८ वा ९ गते उम्मेदवारी घोषणा गर्ने तय भएको छ।
अर्का एक पदाधिकारीले मंसिर ९ गते भण्डारीकै उपस्थितिमा उम्मेदवारी घोषणा गर्ने तयारी भइरहेको बताए।
'उहाँको सदस्यता टुंगिएको भए उहाँ नै उम्मेदवार हुनुहुन्थ्यो तर उहाँको सदस्यता नटुंगिएका हुनाले अब ईश्वर पोखरेल नै उठ्ने हुनुभयो,' ती नेताले सेतोपाटीसँग भने, 'हामी ९ गते उम्मेदवारी घोषणाको तयारीमा छौं। विद्याकै उपस्थितिमा ईश्वरले उम्मेदवारी घोषणा गर्ने कार्यक्रम छ।'
उनका अनुसार संस्थापनइतर समूहले फरक मत लैजाने तयारी गरेको छ। दस्तावेज लेखनको काम उपाध्यक्ष युवराज ज्ञवालीले गरिरहेका छन्।
एमालेको ५०औं सचिवालय बैठक आज च्यासलमा बसिरहेको छ। जारी सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेलले आफू अघि बढेको औपचारिक जानकारी दिने पनि इतर समूहको तयारी छ। 'उहाँले त्यसको संकेत दिनुहुनेछ,' ती पदाधिकारीले भने।



थर्ड पोल 