वालयोगेश्वर विजयमूर्ति भन्छन् दाताको रकम चलाउँदिन, पुरै खर्च म तिर्छु 

वालयोगेश्वर विजयमूर्ति भन्छन् दाताको रकम चलाउँदिन, पुरै खर्च म तिर्छु 

काठमाडौं ।  ललितपुरको गोदावरीको मामाघर आश्रममा गतभदौ २० गतेदेखि ३० गतेसम्म आयोजित श्रीमद भागवत विराट महायज्ञमा ८१ लाख ४२ हजार ६५९ नोक्सान भएको छ । मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टरका संरक्षक बाल योगेश्वर विजयमुर्तिका अनुसार महायज्ञमा १ करोड ५६ लाख खर्च भएको छ भने ६८ लाख ९३ हजार ७९७ आम्दानी भएको छ । सस्थाका संरक्षक विजयमूर्तिले आश्रम निर्माणका लागि ५० लाख राखिएको र ३० लाख हस्तान्तरण गरि सकिएको बताए ।

अनाथालयको दिर्घकालीन संरचना निर्माणका लागि आश्रम निर्माण गर्न भन्दै महायज्ञ सञ्चालन गरिएको थियो । अनाथालयका संरक्षक तथा वडाध्यक्ष राज घिमिरेले संस्थालाई सहयोग गर्न आफूले गोदावरीमा सरकारी जग्गा भाडामा उपलव्ध गराउन मन्त्री परिषदमा लैजाने आश्वासन दिए ।

दान रकम बोलेका र चेक प्रदान गरेकोबाट ७ लाख ६१ हजार ४ सय ३४ रुपैयाँ प्राप्त गर्न अझै बाँकी रहेको उनले बताए । उनले आफूले वार्षिक रुपमा विभिन्न स्थानमा हुने कार्यक्रममा गएबापत प्राप्त हुने रकमबाट तिर्नुपर्ने रकम तिर्दै जाने पनि जानकारी दिए । 

आय व्यय विवरण सार्वजनिक कार्यक्रममा गोदावरी नगरपालिका वडा नंं १४ का वडा अध्यक्ष निरोज बज्राचार्य र वडा नंं ३ का वडा अध्यक्ष सानुराजा घिमिरेले जग्गा प्राप्तीका लागि पहल गरिरहेको जानकारी दिए । उपस्थित सञ्चारकर्मीहरुले विभिन्न प्रश्नहरु राख्दै फजुल खर्च घटाउन सल्लाह दिए । 

मामाघर अनाथाश्रममा अहिले ७१ जना बालबालिका छन् । जसमा ४१ जना बालक र ३० जना बालिका छन् । उनीहरुका लागि अलग अलग बस्ने व्यवस्था छ । गोदावरी नगरपालिकामा रहेका विभिन्न विद्यालयहरुमा उनीहरुलाई पढ्ने व्यवस्था मिलाइएको छ । जाजरकोट भुकम्पबाट पिडितहरुलाई पनि मामाघरमा ल्याइएको छ । आश्रमले अहिलेसम्म ४ जनालाई भने पारिवारिक पुनर्मिलन गराएको छ ।  आश्रममा दैनिक खर्च भने जन्मदिन, विवाह उत्सव, पितृको श्राद्ध लगायतका अन्य अवसरहरुमा दाताहरुले गर्ने खाद्यान्न, नगद सहयोगबाट चलिरहेको छ ।