शेखर कोइरालाप्रति खनिए विनोद चौधरीः “हामीजस्ता नेता गुटको शिकार भैदिनुपर्ने हो ?”
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले नेता शेखर कोइरालाप्रति आक्रोश व्यक्त गर्दै गुटको राजनीति पनि सीमाभित्र रहेर गर्न चेतावनी दिएका छन् । केन्द्रीय समितिको बैठकमा सोमबार कोइरालाले विनोद चौधरीलाई केन्द्रीय समितिमा ल्याउँदा विधि र विधान मिचेको भन्दै सभापति शेरबहादुर देउवाको आलोचना समेत गरेका थिए । उनले चौधरीको उपस्थितिलाई ‘कन्फ्लिक्ट अफ इन्ट्रेष्ट’ भनेका थिए ।
आज केन्द्रीय समितिको बैठकमा नेता चौधरीले देशको आर्थिक बागडोर धानेर बसेको व्यक्तिलाई अहिले आएर विधि र प्रक्रियाको कुरा गरेर किनारा लगाउन खोजिएको भन्दै आपत्ति जनाए । चौधरीले आक्रोश व्यक्त गर्दै आफूहरुजस्ता नेतालाई गुटको शिकार बनाउन नहुने धारणा राखे ।
कोइरालाको भनाइको प्रतिवाद गर्दै चौधरीले भने,‘ सारा विधि कुराहरू पार्टीको नियम, अर्को पार्टीबाट आएको पृष्ठभूमि, त्यसको कानुनी परिप्रेक्ष्य पार्टीको कानुन विभागले गरेको विश्लेषण र त्यसपछिको निर्णय र त्यसपछि कोर्टले समेत गरेको निर्णय अनुसार भएको हो ।’ त्यस्तै जेलनेल खाएर आएका नेताको सम्मान गर्ने बताउँदै फरक पृष्ठभूमिबाट आएका नेता सधैँ गुटको शिकार बन्नुपर्ने हो ? भन्दै प्रश्न समेत गरेका छन् ।
चौधरीले आफूविरुद्ध हृदयश त्रिपाठीलाई सघाउन कोइराला पक्षले भूमिका खेलेको आरोप लगाए । ‘पार्टीको आधिकारिक उम्मेदवारको विरोधमा हृदयश त्रिपाठीका लागि ठाउँ–ठाउँमा, बुथ–बुथमा मान्छे राखिएको थियो ।
‘मलाई हराउन हर प्रयास गर्ने लुम्बिनी प्रदेशको महामन्त्रीको पदमा आसिन भएर बस्ने मान्छेलाई बोकेर हिंड्ने नेताले यो पार्टीलाई हाँक्ने हो भोलिको दिन ?’ चौधरीले कोइरालालाई प्रश्न गरे ।लुम्बिनीको कांग्रेस महामन्त्री विक्रम खनाल नेता कोइराला निकट छन् ।
उनले गुटको राजनीति गर्न ‘डबल स्टान्डर्ड’ त्याग्न सुझाव दिए । महामन्त्रीहरुले ल्याएको आर्थिक सोचले एकातिर आफूहरु उत्साही भए पनि अर्कोतिर अर्कोतिरका अभिव्यक्तिले दुखित तुल्याएको बताए ।
थर्ड पोल 