शरणार्थी प्रकरणमा घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकार दृढ रहेको छः उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं, २ जेठ । समृद्धि यात्राको मुख्य बाधकका रुपमा रहेको भ्रष्टाचार र कुशासनलाई अन्त्य गर्न सरकार दृढता र निर्भिकतापूर्वक अघि बढेको उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको भनाई छ ।
आज राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणका सन्दर्भमा भइरहेको अनुसन्धानबारे समितिका सदस्यले राखेको जिज्ञासमा उनले सो घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकार दृढ रहेको बताएका छन् ।
उपप्रधानमन्त्री श्रेष्ठले भने, “अनुसन्धानमा कुनै पक्षपात हुने छैन, सरकार जस्तो सुकै दबाब आए पनि झुक्दैन । अनुसन्धानले जहाँसम्म आवश्यकता ठान्छ त्यहाँसम्म दृढतापूर्वक पुग्छ । सरकार दोषीलाई कारबाही गर्न दृढ छ ।”
नक्कली भूटानी शरणार्थी बनाउने घटनाको अनुसन्धानका लागि प्रहरी अहोरात्र खटिरहेको जानकारी दिँदै उहाँले अनुसन्धानका क्रममा प्रहरीलाई सुरुआतदेखि नै कुनै राजनीतिक दबाब वा अवाञ्छनीय प्रभावबाट मुक्त रहन कडा निर्देशन दिएको बताए। उपप्रधानमन्त्री श्रेष्ठले भने, “कोही निर्दोष फस्ने काम नहोस् भनेर प्रारम्भदेखि नै सचेत हुन, कसैको सार्वजनिक छविमाथि अनावश्यक आशङ्का र क्षति पुग्न नपाओस् भनेर होसियार भएर प्रहरीले निष्ठापूर्वक र निष्पक्ष ढङ्गले अनुसन्धान अघि बढाएको छ ।”
अनुसन्धानका क्रममा प्रमाण र तथ्य देखापरेका आधारमा विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिने र अनुसन्धानको प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाउँदै उनले अनुसन्धानले पुष्टि गरेका आधारमा कानुनको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन्।
थर्ड पोल 