टिकट वितरणमा आर्थिक चलेखल र अनियमितता भयो: शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा टिकट वितरण गर्दा अनियमितता हुँदा इमान्दार कार्यकर्ता पीडामा परेको बताएका छन् । आफूसँग असहमत भएकै कारण कैयनको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएको भन्दै उनले दुःख व्यक्तसमेत गरेका छन् ।
आज प्रेस विज्ञप्ति जार्दै कोइरालाले भनेका छन्, ‘टिकट वितरणमा आर्थिक चलेखल र अनियमितता भयो भन्ने कुराहरु यतिखेर सार्वजनिक भइरहेका छन् र त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताहरु भोग्दैछन् ।’
उनले पार्टीभित्र भइरहेका यस्ता क्रियाकलापबाट निराश नहुने तर गलत कार्यहरु तत्काल रोकिनुपर्नेमा जोड दिएका छन् । गलत क्रियाकलापका कारण कांग्रेस नेता–कार्यकर्ताहरु स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी मैदानमा जान बाध्य भएको भन्दै कोइारालाले त्यस्ता साथीहरुलाई कांग्रेसको मूल प्रवाहमा फर्किन आग्रह पनि गरेका छन् ।
