संखुवासभामा पहिरोले तीन घर र ताप्लेजुङमा बाढीले काठेपुल बगायो

संखुवासभामा पहिरोले तीन घर र ताप्लेजुङमा बाढीले काठेपुल बगायो


काठमाडौं । गएराति अबिरल वर्षासँगै गएको पहिरोले संखुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा तीन घर बगाएको छ भने एक जना घाइते भएका छन् ।  पहिरोमा परेर घाइते हुनेमा मणिप्रसाद राई रहेका छन्। 

कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ ।  पहिरोले घर बगाएर विस्थापित भएपछि उनीहरु छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । प्रहरीका अनुसार पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा नौ घर विस्थापित भएका छन् ।

खाँदबारी–४ सेकाहाका चार घर पहिरोबाट विस्थापित भएका वडा नं ४ का वडाध्यक्ष विनोद सुब्बा गुरुङले जानकारी दिए । चिचिला गाउँपालिकाको वडा नं १ र २ का पाँच घर पहिरोको उच्च जोखिममा परेका प्रहरीले जनाएको छ । जिल्लामा बाढी पहिरोले के–कति क्षति भयो भन्ने विवरण सङ्कलन भइरहेको प्रहरी निरीक्षक लामिछानेले बताए ।

पहिरोले उत्तर–दक्षिण कोशी सडकमा समेत क्षति पुगेको छ । कालोपत्र गर्न ठिक्क पारिएको चार किलोमिटर सडकमा क्षति पुगेको उत्तरदक्षिण कोशी सडक आयोजनाले जनाएको छ । यो कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का सडकखण्डमा पर्दछ । निरन्तरको वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो गएपछि सडक अवरुद्ध भएको छ । पहिरोका कारण करिब रु एक करोडको क्षति भएको सडक कार्यालयले जनाएको छ ।

त्यसैगरी  गएरातिदेखि परेको परेको अविरल वर्षाले ताप्लेजुङको सिसावा खोलामा आएको बाढीले एउटा काठेपुल बगाएको छ । सवारीसाधन र स्थानीय आउजाउ गर्दै आएको उक्त पुल बाढीले बगाएपछि फक्तालुङ गाउँपालिकाका स्थानीय प्रभावित भएका छन् ।

वडाध्यक्ष लिम्बुले सिसावा खोलामा आएको लेदोसहितको बाढीले तमोर नदी पनि थुनिएको जानकारी दिए । ‘माथि त खासै जोखिम छैन । तल तमोर थुनिएर अलि त्रास बढेको छ । ड्याम बनेको छ’, उनले भने, ‘पानी अहिले अलि कम भएको छ । 

त्यस्तै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका प्रमुख रवीन्द्रप्रसाद आचार्यले थुनिएको तमोर अहिले खुलिसकेको जानकारी दिए । ‘तमोर थुनिएको छ भन्ने थाहा हुनेबित्तिकै प्रहरी टोली खटिइसकेको थियो । त्यो ड्याम अहिले त धेरै खुलिइसक्यो’, उनले भने, ‘तै पनि तल्लो क्षेत्रमा सतर्कता अपनाउन सबैलाई सूचना दिइसकेका छौं ।’