सडक अवरुद्ध हुँदा हिँडाएरै पोखरा ल्याइँदैछन् भेडा–च्याङ्ग्रा

सडक अवरुद्ध हुँदा हिँडाएरै पोखरा ल्याइँदैछन् भेडा–च्याङ्ग्रा

दसैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा पोखरा भित्रिन थालेका छन् । 

यो वर्षको पहिलो लटमा डोल्पाका च्याङ्ग्रा लिएर व्यवसायी मीनप्रसाद बोहरा पोखरा आइपुगेका छन् । उनले पोखराको सिम्पानी जौबारीमा २१ हजारदेखि ४० हजार रुपैयाँसम्मका च्याङ्ग्रा बिक्रीमा राखेका छन् 

विगत तीन वर्षदेखि भेडा–च्याङ्ग्रा लिएर निरन्तर पोखरा आइरहेका बोहराले यो वर्ष १ सय वटा भेडा–च्याङ्ग्रा पोखरा भित्र्याएका हुन् । यस वर्ष मुस्ताङ, बझाङ, हुम्ला र डोल्पालगायतका हिमाली क्षेत्रबाट करिब १० हजारभन्दा बढी भेडा–च्याङ्ग्रा पोखरा भित्रिन सक्ने व्यापारीहरूको अनुमान रहेको छ ।

केही व्यापारीले हिँडाएर र केहीले गाडीमा राखेर भेडा–च्याङ्ग्रा पोखरा ल्याउने गरेका छन् । गत असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण बेनी–जोमसोम–कोरला सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । यसले गर्दा मुस्ताङबाट अघिल्ला वर्षहरूजस्तै यसपालि गाडीमा हालेर भेडा–च्याङ्ग्रा पोखरा ल्याउने सम्भावना देखिँदैन ।