स्थानीयको आन्दोलितपछि मन्थली–चिसापानी सडक निर्माण सुरु 

 स्थानीयको आन्दोलितपछि मन्थली–चिसापानी सडक निर्माण सुरु 

काठमाडौं । सदरमुकाम मन्थलीदेखि चिसपानीसम्मको सडक कालोपत्रे गर्ने जिम्मा लिएको रामेछापका प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङको कान्छाराम कन्ट्रक्सनले निर्धारित समयमा काम नगरेको भन्दै स्थानीयले संघर्ष समिति बनाएर आन्दोलनको घोषणा गरेपछि सडक निर्माणको काम अघि बढेको छ । 

रोकिएको सडक निर्माणको काम सुरु गर्ने पटक पटक लिखित सहमति भएको भए पनि काम अघि बढेको थिएन । संघर्ष समितिले काठमाडौं स्थित तामाङकै घरमा गएर पनि ज्ञापनपत्र बुझाएको थियो । स्थानीयले संघर्ष समिति बनाएर पत्रकार सम्मेलन गरी निर्माण व्यवसायीको विरुद्ध सडकमा आन्दोलन गर्ने चेतावनी दिएपछि सडकमा बेस राख्ने काम सुरु भएको छ ।  चैत महिना भरीमा सडकको काम सक्ने निर्माण कम्पनिले जनाएको छ । 

डेढवर्ष भित्र काम सक्ने गरी तीन वर्षअघि नै ठेक्का लगाइएको सो सडकको काम पटक पटक म्याद थप गरेर पूरा नगरेपछि स्थानीयले प्रकाश श्रेष्ठको संयोजकत्वमा दबाब तथा संघर्ष समिति बनाएका थिए ।कूल सात किलोमिटरमध्ये गतसाल दुई किलोमिटर सडक पिच गरेर निर्माण कम्पनीले काम त्यतिकै छाडिदिएको थियो । 

सडक अलपत्र छाडेर छाडेको कारण धुलो उडेर घर भित्र समेत बस्न नसक्ने अवस्था बनेपछि स्थानीय संघर्षमा उत्रिएका थिए । जिम्मेवार व्यक्तिकै निर्माण कम्पनीले नागरिक स्वास्थ्यमा खेलबाड गर्ने गरी काम अलपत्र पारेको भन्दै स्थानीयले पत्रकार सम्मेलन गरेर निर्माण व्यवसायीको खोजी गरी काममा लगाइदिन आग्रह गर्दै काम सुरु नभए संघर्षमा जाने घोषणा गरेका थिए । 

सो सडकको लागि वाग्मती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट आर्थिक वर्ष २०७६÷०७७ मा टेण्डर आह्वान गरिएको थियो । तामाङको एमएस कान्छाराम कन्ट्रक्सन कम्पनीले २०७७ असार २७ गते  भ्याटसहित १९ करोड १ हजार ४ सय ५० रुपैँमामा काम सम्पन्न गर्ने सम्झौता गरेको थियो । निर्माणको ८० प्रतिशत काम पूरा भएको भन्दै १५ करोड ३२ लाख ७६ हजार ६ सय ८७ रुपैयाँ भुक्तानी लिइसकेको छ ।