सरकारसँग सहमतिपछि मिटरव्याजपीडितद्वारा आजदेखि आन्दोलन स्थगित

 सरकारसँग सहमतिपछि मिटरव्याजपीडितद्वारा आजदेखि आन्दोलन स्थगित


काठमाडौं । आन्दोलनरत मिटरव्याजपीडित र सरकारबीच सोमबार साँझ चार बुँदे सहमति भएपछि मिटरब्याजपीडितहरूले आजदेखि आन्दोलन स्थगित गरेका छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयमा भएको वार्तामा मिटरव्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति र मन्त्रालयबीच चार बुँदे सहमति भएको हो । मिटरब्याजपीडितका समस्या सम्बोधन गर्न सरकारले यसअघिको भन्दा थप अधिकारसहितको शक्तिशाली जाँचबुझ आयोग गठन गर्ने र पीडितले राखेका अन्य मागहरू सम्बोधन गर्ने सहमति भएपछि पीडितहरूले आन्दोलनका कार्यक्रम स्थगित गर्न तयार भएका हुन् । 

आइतबार र सोमबार वार्तापछि गृहका सहसचिव एवम् वार्ता समितिका संयोजक रुद्रप्रसाद पण्डित र संघर्ष समितिका अध्यक्ष अवधेशप्रसाद कुशवाहासहित सरकार र पीडितका प्रतिनिधिहरूले संयुक्तरुपमा सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । 

पीडितहरूको मागबमोजिम सरकारले फेरि जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ । पीडितहरूले न्यायिक छानविन आयोगको माग गर्दै आएका थिए । सरकारले यसअघि गतवर्ष चैतमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । सो आयोगले दिएको प्रतिवेदनमा आधारित भएर नयाँ गठन हुने आयोगले पुनः काम अघि बढाउने सहमतिपत्रमा उल्लेख छ ।