सेवा प्रवाहमा सुधारको प्रयास, फ्रन्ट डेस्कका कर्मचारीलाई नागरिक केन्द्रित प्रशिक्षण

सेवा प्रवाहमा सुधारको प्रयास, फ्रन्ट डेस्कका कर्मचारीलाई नागरिक केन्द्रित प्रशिक्षण


काठमाडौं ।  आम नागरिकले सरकारको उपस्थिति र व्यवहार महसुस गर्ने पहिलो ठाउँ हो, सरकारी कार्यालयको ‘फ्रन्ट डेस्क’ । अर्थात सोधपुछ र दर्ता चलानी शाखा हो । सार्वजनिक निकायमा सेवा लिन जाँदा प्रायः नागरिकले भोग्ने साझा नियति हो, कर्मचारीको रुखो बोली, उदासीन अनुहार र एक कोठाबाट अर्को कोठा धाउनु पर्ने बाध्यता ।

लामो समयदेखि यही संवेदनशील ठाउँमा बस्ने कर्मचारीहरू सधैँ कार्यबोझको दबाबमा रहने, उत्प्रेरित नहुने र कतिपय अवस्थामा नागरिकप्रति संवेदनशील नहुँदा समग्र सरकारकै छविमाथि प्रश्न उठदै आएको थियो ।

सोही संवेदनशीलतालाई चिर्न सरकारले पहिलोपटक ‘नागरिक केन्द्रित सार्वजनिक सेवा प्रशिक्षण’ अभियान सुरु गरेको छ । जसले सरकारी सेवा प्रवाहको पहिलो ढोका मानिने ‘फ्रन्ट डेस्कको अनुहार’ बदल्ने अपेक्षा गरिएको छ । सरकारको १०० बुँदे प्राथमिकता प्राप्त कार्यक्रमअन्तर्गत सुरु गरिएको यो तालिम अहिलेसम्मकै फरक र ‘मानव–केन्द्रित’ छ ।

विगतमा प्रशासनिक संरचना, भौतिक पूर्वाधार र प्रविधि सुधारमा मात्रै राज्यको लगानी केन्द्रित हुने गरेकोमा यसपटक भने सेवा प्रवाहको अग्रपङ्क्तिमा खटिने मानव संशाधनको आचरण सुधार्न जोड दिइएको भूमि व्यवस्थापन, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

फ्रन्ट डेक्समा काम गर्ने तीन हजार २०४ कर्मचारीको विवरण सङ्कल्न भइसकेको छ । मन्त्रालयले पहिलो चरणमा सङ्घीय सरकार मातहतका विभिन्न मन्त्रालय र विभागका फ्रन्ट डेस्कमा कार्यरत सहायक स्तरका ६६० र अधिकृत स्तरका ३६० गरी जम्मा एक हजार २० जना कर्मचारीलाई लक्षित गरी तालिम प्रदान गरेको छ ।

यही जेठ ५ गतेदेखि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमार्फत यो प्रशिक्षण तीव्रताका साथ अघि बढाइएको मन्त्रालयका सहसचिव एकदेव अधिकारीले जानकारी दिए ।

“नागरिकले कार्यालयमा पाइला टेक्ने बित्तिकै ठोक्किने ठाउँ फ्रन्ट डेस्क नै हो । तर, हिजोका दिनमा यो डेस्कमा बस्ने कर्मचारीहरू सधैँ दोहोरो मारमा पर्थे एकतर्फ सेवाग्राहीको भीड र दबाब, अर्कोतर्फ हाकिमहरूको ताकेता”, सहसचिव अधिकारीले भने “उनिहरुलाई कुनै न यससम्बन्धी अभिमुखीकरण हुन्थ्यो, न त काम गर्ने हौसला नै ।”

मन्त्रालयअन्र्तगतको प्रशासन सुधार महाशाखा प्रमुख अधिकारीले पाठ्यक्रम र न्यूनतम लागतमा प्रभावकारी हुने खालको तालिम विधि तयार गरी कर्मचारीलाई तालिम दिन थालिएको जानकारी दिए । फ्रन्ट डेस्कका कर्मचारीहरूलाई नै केन्द्रित गरेर मावन केन्द्रित भएर यस तालिम तीन दिनका लागि मात्र भएपनि प्रभाबकारी साबित हुने मन्त्रालयको विश्वास छ ।

“अहिलेसम्मका हाम्रा प्रयास र लगानीहरू कार्यालयको भौतिक सजावट, उपकरण वा कार्य वातावरण सुधार्नमा मात्र बढी केन्द्रित थिए”, तालिमको रणनीति र औचित्यबारे प्रष्ट पार्दै उनले भने “भिडभाडमा आफूलाई कसरी शान्त राख्ने, सेवाग्राही र सुपरभाइजरसँग कसरी प्रभावकारी सञ्चार गर्ने भन्ने सिकाउन तीन दिनको तालिमले कर्मचारीको मनोबल उच्च बनाउनुका साथै समग्र सरकारप्रतिको नागरिकको दृष्टिकोणमा ठुलो सकारात्मक परिवर्तन ल्याउने अपेक्षा छ ।”