संसद्मा मुख्यमन्त्रीमाथि व्यङ्ग्य गर्दै गौरादहको बजारमा, माया हाम्रो बस्यो गीत गाएपछि.....
काठमाडौं । कोशी प्रदेशको बजेट छलफलका क्रममा सांसदले गीत गाएका छन् । नेकपा माओवादी केन्द्रका सांसद गोम्बु शेर्पाले बजेटमा एकलौटी भएको भन्दै गीत गाएका हुन् । उनले ‘गौरादहको बजारमा माया हाम्रो बस्यो‘’ बोलको गीत गाएका हुन् । गौरादह मुख्यमन्त्री हिक्मत कार्कीको निर्वाचन क्षेत्रमा पर्छ । मुख्यमन्त्री कार्कीले आफ्नो क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेको भन्दै कटाक्ष स्वरुप उनले गीत गाएका हुन् ।
गायक सीताराम ताजपुरीयाले गाएको यो गीत कुनै समय पूर्वी नेपालमा चर्चित थियो ।आफ्नो क्षेत्रलाई मात्रै बजेट केन्द्रीत गरेको विरोधमा माओवादी सांसद शेर्पाले गीत गाएर सरकारलाई व्यङ्ग्य गरेका हुन् ।
‘वास्तवमा माया बस्ने भनिएको हिजोको गौरादह, गौरादहले गर्दा मुख्यमन्त्रीज्यू तपाईं र मेरो, मुख्यमन्त्री र प्रदेश निवासीको बसिसकेको माया पनि छुट्ने देखियो नि अब,’ उनले भने, ‘प्रत्यक्षले दुई करोड ५० लाख र समानुपातिकले १ करोड ५० लाखको योजना पेश गर्ने र बाँकी चाहिँ क्रमागत र बहुवर्षीय योजनालाई निरन्तरता दिने भनिएको थियो, तर अहिले एउटै मन्त्रालयबाट मत्यगन्धा फनपार्क निर्माणमा पाँच करोड छुट्याइएको छ, यो न्यायपूर्ण हो रु यहाँ भ्रष्टाचारको गन्ध आयो ।’
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको गृहनगर गौरादह–१ मा रहेको गौरादह पोखरीमा यसपटक प्रदेशबाट ४ करोड ५ लाख रूपैयाँ विनियोजन भएको छ ।पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत पर्यटन विकास आयोजनामार्फत ४ करोड ५ लाख रूपैयाँ रकम छुट्याइएको हो । संघीय सरकारले पनि २ करोड ७० लाख रूपैयाँ विनियोजन गरेको छ ।
गतवर्ष पनि कोशी प्रदेश सरकारबाट त्यही पोखरीको लागि ४ करोड रूपैयाँ उपलब्ध भएको थियो । त्यसअघि प्रदेश सरकारबाट ३ करोड रूपैयाँ विनियोजन भएको थियो । १२ विघा ५ कट्ठा क्षेत्रफलमा फैलिएको गौरादह पोखरी नगरपालिका मातहतमा छ । प्रदेश सरकारले पोखरीका लागि हालसम्म ११ करोड बजेट विनियोजन गरिसकेको छ ।



थर्ड पोल 