१४ महिनामा के चाहीं गर्नुभयो भन्दै प्रधानमन्त्री दाहाललाई लेखकको प्रश्न
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई काल्पनिक कुरा गरेर गठबन्धनलाई झुक्याएको आरोप लगाएका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै लेखकले प्रधानमन्त्री दाहालले गठबन्धका मूल्य र मान्यतालाई भत्काएर एकतर्फी गठबन्धन तोडेको आरोप लगाएका हुन् ।
उनले भने,‘नेपाली कांगेसले गठबन्धनमा भएका निर्णय र सहमतिलाई इमान्दारिता, निष्ठा र मर्यादाका साथ पालना गर्यौं । तर पछिल्लो समय गठबन्धनमा अविश्वास हुनेगरि गतिविधि भए । राजनीतिमा मर्यादा र सम्मानले मात्र पुग्दैन । प्रधानमन्त्रीले गठबन्धका मूल्य र मान्यतालाई भत्काएर, गठबन्धनका सहमतिहरु तोडेर एकतर्फी ढंगले गठबन्धन फेर्नुभयो ।’प्रधानमन्त्रीले कांग्रेस गठबन्धनमा रहेकाबेला देशमा सुशासन विकास र सामाजिक न्याय भएन भन्ने गरेको भन्दै लेखकले १४ महिनामा के चाहि गर्नुभयो तपाईले ? भन्दै प्रश्न गरे ।
उनले भने, ‘जनचाहाना अनुसार सुशासन विकास र सामाजिक न्यायको आकांक्ष पूरा गर्न भनेर लेखेको रहेछ । पोहोर साल प्रधानमन्त्री हुनुभएको १५ महिना लाग्दैछ । १५ महिनापछि सुशासन विकास र सामाजिक न्याय भएन भन्नु भएछ त्यसो भए यो १४ महिनामा के चाहि गर्नुभयो तपाईले ? प्रश्न उठ्छ कि उठ्दैन् । यहाँ त उहाँले गरेको बढो काम सुनाउनुभयो । अहिलेको कुरा साँचो हो कि फाल्गुन २१ गते गरेको हस्ताक्षर साँचो हो ? यस्ता काल्पनिक कुरा गरेर राजनीनिमा झुक्याउन सकिदैन् । एकैछिनलाई सकिएला तर सँधै सकिँदैन् ।’
थर्ड पोल 