१५ दिनदेखि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै मातहतमा, कहाँ पुग्यो गुरुङको छानबिन ?
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह आफैँले राखेका छन् । गुरुङले राजीनामा दिएको १५ दिन बितिसक्दा पनि नयाँ नियुक्ति प्रक्रिया अगाडि बढेको छैन । बिचौलिया दीपक भट्टसँग सेयर लगानी लगायतका विषयमा चौतर्फी प्रश्न उठेपछि गुरुङले वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए, तर उनीमाथि लागेका आरोपबारे छानबिन गर्न सरकार र उनको पार्टी रास्वपाले कुनै अग्रसरता देखाएको छैन ।
वैशाख २० गते बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठकमा पनि यस विषयमा कुनै छलफल नभएको प्रवक्ता मनिष झाले जिकिर गरे । वैशाख २८ गते संसद् बैठक आह्वान भएकाले छानबिन समिति गठनबारे छलफल हुन सक्ने झाको भनाइ छ ।
यसअघि रास्वपा अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले गुरुङको सम्बन्धमा छानबिन प्रक्रिया अगाडि नबढेको बताएका थिए । गुरुङले राजीनामा नदिँदै वैशाख ७ गते केन्द्रीय समितिको बैठकको निर्णय कुरेर बसेको आयोगले स्पष्ट जबाफ नआएपछि छानबिन प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।
स्रोतका अनुसार गृह मन्त्रालयको जिम्मेवारीमा पार्टी सभापति रवि लामिछानेले आफ्नो निकटकालाई पठाउन चाहेका छन् । गुरुङले राजीनामा दिएकै बेला गृहमन्त्री बन्नका लागि महामन्त्री कवीन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, सचिवालय सदस्य दीपक बोहराले दाबी गरेका थिए । तर प्रधानमन्त्री शाह गृह मन्त्रालयको जिम्मेवारी अरुलाई दिन सकारात्मक देखिएका छैनन् । गुरुङमाथि लागेको आरोपमाथि छानबिन भई सफाइ पाएर फर्किने सम्भावना बलियो बन्दै गएको स्रोतको दाबी छ ।
थर्ड पोल 