गोरखा नगरपालिकाका कांग्रेसका मेयर उम्मेदवार आफ्नै कार्यकर्ताबाट कुटिए
नेपाली कांग्रेसको तर्फबाट गोरखा नगरपालिकाका मेयरका उम्मेदवार विश्वदेव श्रेष्ठलाई कांग्रेसकै युवा कार्यकर्ताले हातपात गरेका छन् । मनोनयन दर्ता गर्न फोटो खिचाउन बसपार्कस्थित एक फोटोस्टुडियोमा गएका उनलाई दिउँसो एक बजेतिर युवा कार्यकर्ताले कुटपिट गरेका हुन् ।
कुटपिटबाट उनको टाउको र हातमा चोटपटक लागेको छ । 'तरुण दलका सुदीप थापा मगरलगायतका १०, १२ जना केटाहरुले हेलमेट र सिसाले कुटपिट गरेका हुन् ' उनले भने, 'बसिरहेको ठाउँमा एक्कासी आएर हाने । केही बोल्न पनि पाइएन । म त मरेँ भनेको थिएँ । उनीहरुविरुद्ध ज्यान मुद्धामा उजुरी गर्छु ।'
आफूले टिकट नपाएको झोकमा आकांक्षीमध्ये कसैले कुट्न पठाएको उनले आरोप लगाए । उनले टिकट पाएको खबर पाएपछि कांग्रेसका असन्तुष्ट युवा कार्यकर्ताले कांग्रेसको जिल्ला कार्यसमितिको कार्यालय र नगर समितीको कार्यालयमा तालाबन्दी र धर्ना गरेका छन् ।