थप तीन थान जहाज खरिद गर्ने नेपाल एयरलाइन्स निर्णय

1.

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानका लागि थप तीन थान जहाज खरिद गर्ने भएको छ। उक्त निगमले जहाज थपेर सेवा विस्तार गर्ने लक्ष्यसहित तीन जहाज खरिद गर्ने निर्णय गरेको हो।

निगमले आन्तरिक स्रोतबाट जहाज निर्माता कम्पनीसँग खरिद गर्न लागेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। दुर्गम क्षेत्र ‘स्टल रुट’ मा उडान भर्न सक्ने तीन साना जहाज खरिद गर्ने कार्ययोजना रहेको उनले बताए।

निगम सञ्चालक समितिद्वारा सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ। साथै उक्त विमान थपिएपछि दुर्गम क्षेत्रका जनताको माग सम्बोधन गर्न र हवाई कनेक्टिभिटी बढाउन सहयोग पुग्ने समेत विश्वास लिइएको छ।

आन्तरिक उडानमा बजार हिस्सा ओगट्न नसकेको भनी आलोचना खेपिरहेको उक्त निगम संग दुई थान ट्वीनअटर जहाज रहेको छ। जुन पन्ध्र गन्तव्यमा साताको २५ उडान हुँदै आएको छ।