सिन्धुलीमा जिप  दुर्घटना, ३ जनाको घटना स्थलमै मृत्यु

सिन्धुलीमा जिप  दुर्घटना, ३ जनाको घटना स्थलमै मृत्यु

सिन्धुलीमा बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको तीनपाटन गाउँपालिकाको वडा नम्बर–५ नक्कले भन्ने स्थानमा अनियन्त्रित भई बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सिन्धुलीको भित्री सडक खण्डअन्तर्गत पर्ने वाङरिङबाट चकमके भन्ने स्थानतर्फ कच्ची बाटो भएर मानिस र समान बोकेर जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ०४५६ नम्बरको बोलेरो जिप अनियन्त्रित भई​ सडकबाट करिब एकसय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए ।

दुर्घटनामा सोही गाउँपालिकाको वडा नम्बर–९ आम्बोटे बस्ने ४५ वर्षीय तुलसीराम पहाडी, सोही स्थान बस्ने ५१ वर्षीय रामजी प्रसाद भण्डारी र कमलामाई नगरपालिका वडा नम्बर–७ बस्ने ३० वर्षीय रुपा मगरको मृत्यु भएको प्रहरी नायव उपरीक्षक लामाले बताए । दुर्घटनामा अन्य ७ जना घाइते भएको उनले बताए । घाइतेहरुको स्थानीय बेलघारी स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले बताए ।