अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा ऐनमा समेट्नुपर्छ : महामन्त्री शर्मा

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा ऐनमा समेट्नुपर्छ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा समेट्न सरकारलाई दबाब दिएका छन् । उनले ऐन कार्यान्वयनमा सरकार गम्भीर बन्न ध्यानाकर्षण गराए ।  मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोलेका महामन्त्री शर्माले सरकारकले ऐन कार्यान्वयन गर्ने भनेपनि आगामी वर्षको बजेटमा रकम व्यवस्था नगरेकोमा प्रश्न गरे । 

सामाजिक सुरक्षा ऐनको प्रावधानमै असंगठित क्षेत्रको श्रमिकहरुलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समेट्ने भनिएको छ । प्रावधानले श्रमिकको हालको ज्याला १७ हजार तीनसय मध्ये कोषमा श्रमिकले २२०४ रुपैयाँ जम्मा गर्नुपर्ने, सो मध्ये सरकारले एक हजार १४ रुपैयाँ योगदान गर्नुपर्छ र श्रमिकले ११ सय ९० रुपैयाँ जम्मा गर्नुपर्छ । तर त्यसका लागि सरकारले रकम जम्मा नगरेकोमा उनले ध्यानाकर्षण गराए ।

उनले भने, ‘अर्थमन्त्रीले ल्याएको बजेटको म प्रशंसा गर्छु । त्यसमा सरकारले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुलाई पनि सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने भनेको छ । तर, म गम्भीर रुपमा प्रश्न पनि उठाउन चाहन्छु । आवद्ध गर्ने पनि भन्नुभएको छ तर सरकारले जम्मा गरिदिनुपर्ने १०१४ रुपैयाँको योगदानका लागि नै पैसा छुट्याइएको छैन ।’