दोर्दी र ङादी जलविद्युत आयोजनाको कुलमानले गरे अनुगमन
नेपाल विद्युत् प्राधिकरणले निर्माण सम्पन्न भएका निजी क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत् जतिसक्दो छिट्टो राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि पहल सुरु गरेको छ । प्राधिकरणको उच्च व्यवस्थापनले दोर्दी र ङादी खोलामा निर्माणाधीन जलविद्युत आयोजना र ती आयोजनाहरुको विद्युत प्रवाहका लागि निर्माणाधीन प्रसारण लाइनको स्थलगत निरीक्षण भ्रमण गर्दै निर्माण प्रगतिका बारेमा जानकारी लिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वमा योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके, प्रसारण लाइन निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ, आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख तारा प्रधान, ग्रिड विकास विभागका निर्देशक दुर्गानन्द बडियत, विद्युत व्यापार विभागका निर्देशक प्रबल अधिकारीको टोलीले शनिबार आयोजनाहरुको निरीक्षण गरेको हो ।
टोलीले प्राधिकरणले लमजुङमा निर्माण गरिरहको दोर्दी करिडोर १३२ केभी प्रसारण लाइन, न्यादी हाइड्रोपावर लि।को ३० मेगावाटको न्यादी, हिमालयन पावर पार्टनरको २७ मेगावाटको दोर्दीखोला, लिवर्टी इनर्जीको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, दोर्दीखोला जलविद्युत कम्पनीको १२ मेगावाटको दोर्दी–१, जलविद्युत आयोजनाहरुको भ्रमण गरेको थियो।
टोलीले ती आयोजनाहरुको हालसम्मको निर्माण प्रगति र सम्पन्न हुने तालिकालगायतका बारेमा सम्बद्ध व्यक्तिहरुसँग छलफल गरी जानकारी लिएको थियो । कार्यकारी निर्देशक घिसिङले आयोजनाहरु जतिक्दो छिट्टो निर्माण सम्पन्न गर्न आग्रह गर्दै प्रसारण लाइनमा अभावमा विद्युत जोड्न नसकी खेर फाल्नु पर्ने अवस्था आउन नदिने बताए।
प्राधिकरणले दोर्दी खोलाका जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि ११ किलोमिटर कीर्तिपुर–उदीपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन (दोर्दी करिडोर) र कीर्तिपुरमा सबस्टेसन निर्माण सम्पन्न गरेको थियो ।
तर, १ असार २०७८मा दोर्दी खोलामा आएको बाढीले आयोजनाका ३३ वटा टावरमध्ये ४ वटालाई बगाएको थियो । बाढीले निर्माणको अन्तिम चरणमा पुगेका निजी क्षेत्रका जलविद्युत आयोजनाहरुमा पनि ठूलो क्षति पुर्याएको थियो । अहिले बाढीले बगाएका प्रसारण लाइनका ४ वटा टावर र जलविद्युत आयोजनाहरुको पुनर्निर्माण भइरहेको छ । ४ वटा टावरमध्ये २ वटाको जग हालिएको, १ वटा खडा गरिएको छ भने दुई वटाको जग हाल्ने काम भइरहेको छ । यो काम वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
