अस्ट्रियाको विद्यालयमा भीषण गोलीकाण्ड: ११ जनाको मृत्यु
अस्ट्रियाको ग्राज शहरस्थित बर्ग ड्रायर्सुट्जेनगासे माध्यमिक विद्यालयमा मंगलबार बिहान भएको भीषण गोलीकाण्डमा ११ जनाले ज्यान गुमाएका छन्।
स्थानीय समय अनुसार बिहान १० बजे, २१ वर्षीय आर्टुर ए. नाम गरेका युवक एक सटगन र पेस्तोल बोकेर विद्यालय प्रवेश गरेका थिए। उनले दुईवटा कक्षाकोठामा अन्धाधुन्ध गोली चलाएका थिए, जसमा १० जनाको घटनास्थलमै मृत्यु भयो भने कैयौं विद्यार्थी गम्भीर घाइते भए।
घटनापछि सुरक्षाकर्मी र आपतकालीन सेवाका ३०० भन्दा बढी जनशक्ति तत्काल विद्यालय परिसरमा परिचालन गरिएको थियो। घाइतेहरूलाई अस्पताल पुर्याइएको थियो तर उपचारका क्रममा थप एक जनाको ज्यान गएको पुष्टि भएको छ।
स्थानीय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। आक्रमणकारीको मनोस्थिति, उद्देश्य र पूर्व तयारीबारे विवरण आउन बाँकी छ।
थर्ड पोल 