आज नेपाल संवत् ११४७ र म्हः पूजा मनाइँदै

आज नेपाल संवत् ११४७ र म्हः पूजा मनाइँदै

 नेपाल संवत् ११४७ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। नयाँ वर्षको अवसरमा नेवार समुदायले नेपाल संवत् मनाउनुका साथै आफ्नो आत्माको पूजा अर्थात् म्हः पूजा पनि गर्दैछन्।

नेपाल संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएको छ। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएको ऐतिहासिक मान्यता छ। लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको यो नेपालको मौलिक संवत् हो। पृथ्वीनारायण शाहको शासनकालसम्म यसले राष्ट्रिय संवत्को मान्यता पाएको थियो।

नेपालको नामबाट नामकरण गरिएको यस संवत्लाई राष्ट्रिय मान्यता दिलाउन विसं २००७ मा प्रजातन्त्र स्थापना भएदेखि नै अभियान सञ्चालन हुँदै आएको थियो। विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए।

गरिब जनताको ऋणमोचन गरी सामाजिक सेवाको उदाहरण प्रस्तुत गरेको योगदानको कदर गर्दै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले विसं २०५६ मा शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए।