इरानलाई ट्रम्पको चेतावनी, ‘छिटो सहमतिमा नआए केही बाँकी रहने छैन’

इरानलाई ट्रम्पको चेतावनी, ‘छिटो सहमतिमा नआए केही बाँकी रहने छैन’


 काठमाडौं । युद्ध अन्त्य गर्ने विषयमा भइरहेको वार्ता अवरुद्ध भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै समय घर्किँदै गएको बताएका छन्।  ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा ‘उनीहरू चाँडो अघि बढेको राम्रो, नत्र उनीहरूको केही पनि बाँकी रहने छैन’ भन्दै लेखेका छन् र ‘समय निकै महत्त्वपूर्ण छ’ भन्ने कुरामा जोड दिएका छन्। यो सन्देश राष्ट्रपति ट्रम्पले आइतबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग कुराकानी गर्नुअघि आएको हो।

यसैबिच इरानी सञ्चारमाध्यमहरूले द्वन्द्व अन्त्यका लागि तेहरानले राखेका पछिल्ला प्रस्तावहरूको जवाफमा अमेरिकाले कुनै पनि ठोस छुट दिन नसकेको उल्लेख गरेका छन्। वासिङ्टनका तर्फबाट सम्झौताको कमी भएमा वार्तामा गतिरोध आउने अर्ध(सरकारी मेहर समाचार एजेन्सीले जनाएको छ। 

अप्रिलको सुरुमा युद्धविराम घोषणा हुनुभन्दा ठीक अघि इरानले युद्ध अन्त्य गर्ने सम्झौतामा सहमति नजनाए एउटा सिङ्गो सभ्यता समाप्त हुने भनी ट्रम्पले दिएको धम्कीकै शैलीमा यो नयाँ सन्देश आएको हो।

राष्ट्रपति ट्रम्पले यसै साताको सुरुमा पनि तेहरानका मागहरूलाई पूर्ण रूपमा अस्वीकार गरेपछि युद्धविराम गम्भीर संकटमा परेको चेतावनी दिएका थिए। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले भने आफ्ना मागहरू जिम्मेवार र उदार भएको दाबी गरेका छन्। 

इरानको अर्ध(सरकारी तास्निम समाचार एजेन्सीका अनुसार ती मागहरूमा सबै मोर्चामा तुरुन्तै युद्ध अन्त्य गरिनुपर्ने, इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी रोकिनुपर्ने र इरानमाथि थप आक्रमण नहुने ग्यारेन्टी गरिनुपर्ने कुरा समावेश छन्। 

सबै मोर्चामा युद्ध अन्त्य भन्नाले लेबनानमा इरान समर्थित हिजबुल्लाह विरुद्ध जारी इजरायली आक्रमणलाई संकेत गरिएको हो। यसका साथै युद्धको क्षतिको क्षतिपूर्ति र हर्मुज जलडमरुमध्यमा इरानी सार्वभौमसत्तामाथि जोड दिने माग पनि इरानको रहेको छ।

इरानकै अर्ध(सरकारी फार्स समाचार एजेन्सीले आइतबार जनाएअनुसार वासिङ्टनले इरानको प्रस्तावको जवाफमा पाँचवटा सर्तहरू राखेको छ। जसमा इरानले केवल एउटा मात्र आणविक केन्द्र सञ्चालनमा राख्न पाउने र आफ्नो उच्च संवर्धित युरेनियमको भण्डार अमेरिकालाई हस्तान्तरण गर्नुपर्ने माग रहेको बताइएको छ। 

ट्रम्पले शुक्रबार इरानले आफ्नो आणविक कार्यक्रम २० वर्षका लागि निलम्बन गरेमा आफूलाई स्वीकार्य हुने संकेत गरेका थिए, जुन दुई देशबिचको मुख्य विवादको विषय बन्दै आएको छ। यसले आणविक कार्यक्रम पूर्ण रूपमा बन्द गर्नुपर्ने आफ्नो पूर्व अडानबाट ट्रम्प पछि हटेको पुष्टि गर्छ।