भारतमा कोरोनाको चौथो लहरको संकेत, उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

भारतमा कोरोनाको चौथो लहरको संकेत, उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतमा पछिल्लो दिन कोरोना संक्रमण बढ्दो क्रममा रहेको र जोखिम कायमै रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । आज एक सूचना जारी गर्दै कोभिड–१९ को संक्रमणदर भारत लगायतका छिमेकी राष्ट्रहरुमा पछिल्ला केही दिनमा बढ्दो क्रममा रहेकोले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्डको पालना गर्न समेत मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले सबैले ढिला नगरी नजिकैको खोप केन्द्रमा गई कोभिडविरुद्धको खोप लगाउन र पूर्ण मात्राको खोप लगाएको ३ महिना पूरा भएपश्चात बुस्टर मात्रा खोप लगाउन आग्रह गरेकी छन् ।

भारतमा कोरोनाको चौथो लहरको संकेत देखिन थालेको बताइएको छ । भारतमा एकै दिनमा संक्रमितको संख्या झन्डै ९० प्रतिशतसम्मले बढिरहेको छ । भारतमा संक्रमितको संख्या एकाएक बढ्न थालेपछि राज्य सरकारहरूले फेरि आम मानिसले अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड जारी गर्न थालेका छन् ।

नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशका केही सहरमा मास्कलाई पुनः अनिवार्य गरिएको छ भने सभा, सम्मेलनमा रोक लगाइएको छ ।