तेह्रथुममा सिजेरियन सेवा बन्द हुँदा गर्भवतीलाई सास्ती
तेह्रथुम जिल्ला अस्पतालको प्रसूति कक्षमा आउने गर्भवती महिलाका लागि अहिले चिन्ता बढ्न थालेको छ ।
जिल्लामै सिजेरियनमार्फत प्रसूति सेवा उपलब्ध हुँदै आएको भए पनि आवश्यक जनशक्ति अभाव भएपछि गत असार मसान्तदेखि शल्यक्रियामार्फत प्रसूति गराउने सेवा बन्द भएको छ ।
सेवा बन्द भएपछि शल्यक्रिया आवश्यक पर्ने गर्भवती महिलालाई धरान, विराटनगरलगायत तराईका अस्पतालमा लैजानुपर्ने बाध्यता छ । तेह्रथुमबाट तराईका अस्पताल पुग्न सडकमार्गबाट पाँचदेखि छ घण्टासम्म लाग्ने भएकाले प्रसूति जस्तो संवेदनशील अवस्थामा गर्भवती र परिवारले लामो तथा जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था आएको छ ।
जिल्लामै उपचार हुने विश्वासमा अस्पताल पुगेका गर्भवतीलाई शल्यक्रिया आवश्यक परेपछि फेरि अर्को अस्पतालको यात्रा गर्नुपर्ने बाध्यता छ । यसले गर्भवती महिला र परिवारलाई आर्थिक तथा शारीरिक समस्या मात्रै होइन, समयमै उपचार पाइने हो कि होइन भन्ने चिन्तासमेत थपेको छ । विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रबाट आउने महिलाका लागि लामो दूरीको यात्रा थप कठिन हुने गरेको छ ।
थर्ड पोल 