प्रमुख प्रतिपक्षीले भन्यो – जवाफ दिने बेलामा प्रधानमन्त्री बालेन नआए सह्य हुँदैन
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमबारे सदनमा हुने छलफलको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र साह उपस्थित नभए संसद बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्रीको अनुपस्थितिमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्न मिल्ने भए पनि त्यसको जवाफ भने प्रधानमन्त्री साह आफैँले दिनुपर्ने स्पष्ट पारेका हुन्।
नेता केसीले प्रधानमन्त्री साहले संसदीय परम्परा र मान्यताहरूको एकपछि अर्को गर्दै उपेक्षा गरेको भन्दै आपत्ति जनाए। प्रधानमन्त्रीको अनुपस्थितिमा कुनै पनि विषय संसदमा टेबुल गर्न प्रधानमन्त्रीले तोकेका मन्त्रीले पाउने व्यवस्था नियमावलीमा रहेकाले प्रस्ताव पेश गर्ने प्रक्रियालाई नरोक्ने तर जवाफका बेला प्रधानमन्त्री अनिवार्य उपस्थित हुनुपर्ने कांग्रेसको माग छ। प्रधानमन्त्रीले संसदलाई दिएको कम महत्त्वप्रति कांग्रेसले गम्भीर प्रश्न उठाएको छ।
सदनमा बोल्दै नेता केसीले भने, ‘प्रधानमन्त्रीले संसदीय परम्परा र मान्यताहरूको एकपछि अर्को उपेक्षा गर्नुभएको भन्ने आम रूपबाट हाम्रो धारणा हो। खास गरेर अहिले हामीहरू जो उभिरहेका छौँ, हामी सोही धारणाबाट अभिप्रेरित भएर उभिएका हौँ। जब प्रधानमन्त्रीजीको उपस्थितिको माग गरिएको छ, अहिलेसम्मको संसदीय परम्पराअनुसार कुनै पनि कार्यक्रममा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको कुनै पनि मन्त्रीले टेबुल गर्ने हाम्रो परम्परा हो। अहिले प्रस्तुत गर्ने कुरामा माननीय मन्त्रीजीले प्रस्तुत गर्दा हामीलाई कुनै आपत्ति छैन। तर जवाफ दिने बेलामा पनि प्रधानमन्त्रीको अनुपस्थिति भयो भने हामी बाध्य भएर संसद बहिष्कार गर्छौँ।’
सांसद केसीले नियमावलीको धारा ३८ को व्याख्या गर्दै प्रधानमन्त्रीको कार्यभार कुनै पनि मन्त्रीले संसदमा पेश गर्न सक्ने कुरा संसदीय पद्धति नै भएको स्मरण गराए। उनले प्रस्ताव पेश गर्दा अवरोध नगर्ने नीति लिए पनि प्रधानमन्त्रीले सदनको गरिमा र उत्तरदायित्वलाई ख्याल गर्दै छलफलको जवाफ दिन आफैँ उपस्थित हुनुपर्नेमा जोड दिए।
थर्ड पोल 