पहिरोले बीपी राजमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

पहिरोले बीपी राजमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध


काठमाडौं । अविरल वर्षाका कारण खसेको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सुनकोशी गाउँपालिका–२ कमिरेफाड र गोलञ्जोर गाउँपालिका–६ को अक्करेभीरमा पहिरो जाँदा गएरातिबाट सडक अवरुद्ध भएको हो ।सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् । 

त्यसैगरी अविरल वर्षाका कारण कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ । दुई दिनदेखिको  निरन्तर वर्षाका कारण उक्त करिडोरको बागलुङ र पर्वत खण्डमा सडक अवरुद्ध भएको हो ।बागलुङको जैमिनी नगरपालिका–बिनामारे क्षेत्रमा पहिरो झर्दा कोरिडोर अवरुद्ध भएको छ । 

कोरिडोर अवरुद्ध हुँदा जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायतका स्थानदेखि जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारीसाधन बाटोमै ठप्प रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए । भारी वर्षाका कारण सडक खुलाउने कार्यमा बाधा पुगेको छ ।