ब्रोकर एशोसिएसनले बुझायो बोर्डका अध्यक्षलाई ज्ञापनपत्र
काठमाडौ, ३ असार । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई न्यु स्टक ब्रोकर एसोसियन नेपालले ज्ञापनपत्र बुझाएका छन् । संसदको अर्थ समितिले ब्रोकर लाईसेन्स रोक्न निर्देशन दिएपछि एसोसिएसनले आज बोर्डका अध्यक्ष रमेश हमाललाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापनपत्रमा धितोपत्र ब्रोडले अर्थ समितिको निर्देशन मान्नु नपर्ने जिकिर गरिएको छ । नेपाल धितोपत्र बोर्ड आफैंमा स्वायत्त नियमनकारी निकाय रहेको र अर्थ समिति कुनै पनि दृष्टिकोणबाट नेपाल धितोपत्र बोर्डको प्रत्यक्ष नियमनकारी निकाय नरहेको समितिको निर्देशन बोर्डले मान्नु नपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । छिटो नयाँ ब्रोकरहरुले कारोबार सुरु गर्ने व्यवस्था अगाडि बढाउन नेपाल स्टक एक्सचेन्जलाई पत्रमार्फत निर्देशन दिन एसोसियनले बोर्ड अध्यक्ष हमाललाई आग्रह गरेको छ।
अर्थ समितिको निर्देशन खारेज गर्न पनि एसोसियनले माग गरेको छ । ज्ञापनपत्रमा भनिएको छ, नेपाल धितोपत्र बोर्डबाट भएको यति ठूलो पहलकदमीको विरुद्धमा तथा सम्मानित सर्वोच्च अदालतकैे मिति २०७९ चैत्र २६ गतेको फैसलाको विरुद्धमा, संविधानको धारा १२८ लाई समेत उल्लंघन गरेर अर्थ समितिले दिइएको सो पूर्वाग्रह पूर्ण, सीमित व्यवसायीको सिण्डिकेट र बजारमा एकाधिकारको अवस्थालाई निरन्तरता दिने ढंगबाट जारी भएको निर्देशनलाई खारेज गर्दै नेपालको संविधानको धारा १२८ लाई पूर्ण रुपमा परिपालना गर्न आफ्नो तर्फबाट आवश्यक पहलकदमी तथा सहजीकरण गरिदिनुहुन एवं हाल स्थगित गरिएको इजाजत तथा सदस्यता सम्बन्धि प्रक्रियालाई यथाशीघ्र सूचारु गर्न नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई लिखित निर्देशन प्रदान गरिदिनुहुन आदरणीय अध्यक्षज्यू समक्ष हामी संगठनको तर्फबाट हार्दिक अनुरोध गर्दछौं ।
थर्ड पोल 