बारको अध्यक्षमा घिमिरेको अग्रता दोब्बर, कहिले आउँछ पूर्ण मतपरिणाम ?

बारको अध्यक्षमा घिमिरेको अग्रता दोब्बर, कहिले आउँछ पूर्ण मतपरिणाम ?

नेपाल बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि सम्पन्न चुनावको मतगणना सक्न अझै कम्तीमा दुई दिन लाग्ने भएको छ। मंगलवार र बुधवार दुई दिनमा आधा पनि मत गणना भएको छैन। प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार खसेको कुल ७ हजार ४२९ मतमध्ये बुधवार बेलुकीसम्म ३ हजार २०३ मत मात्रै गणना गरिएको छ। राति गणना नगरिएको र बिहीवार बिहान ९ बजेदेखि गणना थालिने पाठकले जानकारी दिइन्। उनका अनुसार शुक्रवारसम्म मतगणना सकिने अनुमान गरिएको छ।

काठमाडौंको रामशाहपथस्थित बार एशोसिएशनको भवनमा ६ ठाउँमा मतगणना भइरहेको छ। आजदेखि दुईदेखि तीन ठाउँ थपेर गणना गर्ने तयारी गरिएको पाठकले जानकारी दिइन्। हालसम्म गणना भएको मतपरिणामअनुसार अध्यक्षमा गोपालकृष्ण घिमिरेले झण्डै दोब्बर मतले अग्रता कायम गरेका छन्। निर्वाचन समितिका अनुसार घिमिरेले १ हजार ९९० मत प्राप्त गर्दा उनका निकटतम प्रतिष्पर्धी विष्णुमणि अधिकारीले १ हजार ४ मत प्राप्त गरेका छन्।

घिमिरे बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबाट अध्यक्षका उम्मेदवार हुन्। अधिकारी प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका उम्मेदवार हुन्। यस्तै‚ महासचिवमा घिमिरे प्यानलका अन्जिता खनालले १ हजार ७६५ मत प्राप्त गर्दा अधिकारी प्यानलका केदार प्रसाद कोइरालाले १ हजार १७५ मत प्राप्त गरेका छन्।