भ्रष्टाचार नियन्त्रण नगरेसम्म देशको वास्तविक प्रगति हुन सक्दैन : उपराष्ट्रपति यादव
काठमाडौं । भ्रष्टाचार नियन्त्रण नगरेसम्म देशको वास्तविक प्रगति हुन नसक्ने उपराष्ट्रपति रामसहाय यादवले बताएका छन् ।भ्रष्टाचारविरुद्ध अभियानको २७औं वार्षिकोत्सव तथा अभियन्ता भरत जङ्गमको ७७औं जन्मोत्सव अवसरमा आयोजित सम्मान समारोह तथा युगपुरुष महाकाव्य सार्वजनिकीकरण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
देशबाट गरिबी, बेरोजगारी र पछौटेपन हटाउन जरुरी रहेको भन्दै यादवले शिक्षाको माध्यमबाट जीवनको मूल्य पहिचान गराएर मानिसलाई नैतिकवान, चरित्रवान र व्यावहारिक आदर्शवान बनाउनुपर्नेमा जोड दिए ।
रिपोर्टिङ गर्ने कुरा सरल भए भ्रष्टाचार नियन्त्रण गर्न सजिलो हुने उल्लेख गर्दै उनले भने, ‘यसका लागि बद्नियत सोच राख्नेहरुविरुद्ध बिना डर र त्रास जोकोहीलाई पनि सम्बन्धित निकायमा रिपोर्ट गर्न सक्ने अधिकार हुनु पर्छ । यसले भ्रष्टाचारलाई धेरै हदसम्म नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास लिएको छु ।’
भ्रष्टाचार मुलुककै लागि कलंक भएको भन्दै उपराष्ट्रपति यादवले यसलाई नियन्त्रण नगरेसम्म देशको वास्तविक प्रगति, उन्नति र विकास कठिन हुने बताए । ‘प्रत्येक व्यक्तिले भ्रष्टाचारको विरुद्धको कामलाई आफ्नो कर्तव्य ठान्न जरुरी छ’ उनले भने ‘सबैले आत्म समीक्षा गर्दै भ्रष्टाचारलाई जरैदेखि फाल्न आवश्यक छ । देश निमार्णका लागि सुशासन, सदाचार र व्यवहारको प्रवर्द्धन गर्नु आजको प्रमुख आवश्यकता हो ।’
थर्ड पोल 