मितेरी सहकारी ठगी प्रकरणः  ज्योति भण्डारीविरुद्ध नागरिकता र पासपोर्ट किर्ते कसुरमा पनि अनुसन्धान

मितेरी सहकारी ठगी प्रकरणः  ज्योति भण्डारीविरुद्ध नागरिकता र पासपोर्ट किर्ते कसुरमा पनि अनुसन्धान

काठमाडौं । कम्बोडियाबाट पक्राउ गरेर बुधबार राति काठमाडौं ल्याइएका मितेरी सहकारी ठगी प्रकरणका अभियुक्त ज्योतिबहादुर भण्डारीविरुद्ध नागरिकता र राहदानीमाथि पनि छानबिन सुरु गरिएको छ ।  दुई फरक नम्बरका नागरिकता र राहदानी रहेको खुलेपछि यस विषयमा पनि छानबिन हुने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बताएको छ ।

उनको नाममा कास्की र बर्दियाबाट दुई फरक–फरक नागरिकता र राहदानी लिएको पाइएको सीआईबीका एसपी तथा प्रवक्ता युवराज खड्काले बताए ।

ललितपुरमा कार्यालय रहेको मितेरी सहकारीको रकम अपचलन गरेर उनी लामो समयदेखि फरार हुँदै आएका थिए । उनीविरुद्ध इन्टरपोलमार्फत  २०८१ कार्तिक १३ मा रेड नोटिस समेत जारी भएको थियो । यो सहकारीका १४४ जना बचतकर्ता र सञ्चालकहरुको समेत गरी करिब १४ करोड रुपैयाँ अपचलन गरेको आरोप छ ।

बर्दियाको बाँसगढी गाउँपालिका–७ का ४२ वर्षीय भण्डारीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वश्रीमती ज्योति गुरुङमार्फत सहकारीको रकम लिएर घोटाला गरेको आरोप छ । उक्त रकम उनले क्रिप्टोमार्फत विदेश पुर्‍याएको प्रहरीले आशंका गरेको छ ।मितेरकिो महाप्रबन्धक समेत रहेकी ज्योति गुरुङमार्फत लिएको उक्त रकम सुरुमा थाइल्याण्ड लगेर भण्डारी त्यही बसोबास गरेको पाइएको प्रहरीले बताएको छ ।